आइएसविरुद्ध लड्न अमेरिकासँग कुनै सहयोग नलिने तालिबान सरकारको घोषणा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आइएसविरुद्ध लड्न अमेरिकासँग कुनै सहयोग नलिने तालिबान सरकारको घोषणा


२४ आश्विन २०७८, आइतबार


काठमाडौँ । अफगानिस्तानको तालिबान सरकारले बढ्दै गएको आतङ्कवादी गतिविधिविरुद्ध लड्न अमेरिकी सहयोग नलिने भएको छ ।

कतारको राजधानी दोहामा आयोजित अमेरिका र तालिबान प्रतिनिधिबीचको दुई दिवसीय वार्तामा तालिबानले आतङ्कवादविरुद्धको लडाइँमा अमेरिकी सहयोग नलिने बताएको हो ।

गत अगस्टमा अमेरिकी सेना फर्किए लगत्तै सत्ता सम्हालेको तालिबानले मुलुकमा बढ्दै गएको आतङ्कवादी गतिविधिविरुद्ध आफूहरु नै सक्षम रहेको बताएको हो ।

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुँदै गर्दा आईएससँग जोडिएको स्थानीय एक आतङ्कवादी सङ्गठनले झन्डै २ सय मानिसको ज्यान जाने गरी विमानस्थलमा बम आक्रमण गरेको थियो ।

बम आक्रमणपछि अमेरिकाले ड्रोन कारबाही गरेको थियो। अमेरिकी कारबाहीमा आइएसको आक्रमणका योजनाकार मारिएको अमेरिकाले बताएको थियो। साथै अमेरिकी आक्रमणमा काबुलको एक निर्दोष परिवारका व्यक्तिहरु पनि मारिएका थिए ।

पछिल्लो पटक शुक्रबार आईएसकै स्थानीय सङ्गठनले गरेको आत्मघाती बम आक्रमणमा ६० जनाभन्दा बढी मानिस मारिएका थिए ।

कुन्दुज प्रान्तमा रहेको एक शिया मस्जिदमा आक्रमण हुँदा २ सयभन्दा बढी मानिस घाइते भएको बताइएको थियो । दोहामा हिजो सुरु भएको अमेरिकी अधिकारीहरुसँगको वार्तामा तालिबान प्रतिनिधिहरुले अफगानिस्तानमा हुने आतङ्कवादी गतिविधिविरुद्ध आफूहरु लड्न सक्षम रहेको जवाफ दिएको जनाइएको छ ।

तालिबान प्रवक्ता सुहैल शाहीनले आईएसविरुद्ध आफूहरु नै लड्ने बताएका हुन् । सन् २०१४ देखि आईएसले पूर्वी अफगानिस्तानमा शिया मुसलमानहरुलाई निशाना बनाएर आत्मघाती आक्रमण गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस