माथिल्लो सगरमाथाका तीन जिल्लासहित भोजपुरमा नयाँ नोटको अभाव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माथिल्लो सगरमाथाका तीन जिल्लासहित भोजपुरमा नयाँ नोटको अभाव


२३ आश्विन २०७८, शनिबार


ओखलढुंगा। माथिल्लो सगरमाथाका तीन जिल्लासहित भोजपुरमा नयाँ नोट आएका छैनन् । सोलुखुम्बु, ओखलढुंगा, खोटाङ र भोजपुरमा नयाँ नोट नआएपछि सर्वसाधारण समस्यामा परेका छन् ।

नेपाल राष्ट्र बैङ्कले असोज ४ गतेबाट नै देशभरका बैङ्क शाखाबाट लिन सक्ने व्यवस्था गरे पनि चार जिल्लामा भने नयाँ नोट नआएको सम्बन्धित जिल्लाका बैङ्कहरूले जनाएका छन् ।

नयाँ नोटका लागी बैङ्कमा ग्राहकहरुको भिड लाग्ने भए पनि नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैङ्क ओखलढुंगा शाखाका प्रबन्धक सुवास निरौलाले जानकारी दिए।

बैकमा पर्याप्त पैसा मौज्दात रहेको र बिमाको दायित्व पनि बढाउनु पर्ने भएका कारण राष्ट्र बैङ्कले नयाँ नोट नपठाएको उनको भनाइ छ । उनले नयाँ नोट नहुँदा भने सर्वसाधारणलाई समस्या परेको बताए । दैनिक कारोबारका लागि पर्याप्त नोट भए पनि खुद्रा सटहीका लागि भने नभएको प्रबन्धक निरौलाको भनाइ छ ।

नयाँ नोट नआउँदा र पुरानो खुद्रा रकम समेत पर्याप्त नहुँदा समस्या भएको राष्ट्रिय वाणिज्य बैङ्क सल्लेरी सोलुखुम्बुका प्रबन्धक चित्र खड्काले बताए । बैङ्कमा स्टक रकम भएकाले राष्ट्र बैङ्कले नयाँ नोट नपठाउँदा ग्राहकहरुलाई रित्तो हात फर्काउनु परेको उनको भनाइ छ ।

यस्तै खोटाङ र भोजपुरमा पनि नयाँ नोट नआउँदा समस्या भएको बताइएको छ । नयाँ नोट लिनका लागि बैङ्क पुगेकाहरुलाई पुरानो नोट दिएर पठाउने गरेको राष्ट्रिय वाणिज्य बैङ्क खोटाङका शाखा प्रबन्धक काजी बस्नेतले जानकारी दिए ।

माथिल्लो सगरमाथाका तीन जिल्ला र भोजपुरमा नयाँ नोट नगएको विषयमा आफू जानकार नभएको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता देबकुमार ढकालले बताए ।

विराटनगरमा रहेको राष्ट्रिय वाणिज्य बैङ्कसँग तत्काल जानकारी लिएर नोट पठाउने व्यवस्था गरिने उनको भनाइ छ । तर यी चार जिल्लामा रहेका बैङ्कहरुलाई प्रदेश कार्यालय नभएर केन्द्रबाट नै हेरिने गरेको छ ।

ओखलढुंगामा दशैका लागि नयाँ नोट नआए पछि खुद्रा नोटको अभाव अभाव हुने देखिएको छ । जिल्लामा खुद्रा नोट सटहीका लागि आउने अधिकांश सेवाग्राही त्यसै फर्किने गरेका बैङ्कहरुले जनाएका छन् ।

राष्ट्रिय वाणिज्य बैङ्कले अन्य बैङ्कलाई खुद्रा सटहीका लागि दिने व्यवस्था रहे पनि निजी बैङ्कले पनि सर्वसाधारणलाई पुराना नोट प्रदान गर्दै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस