काँग्रेस महाधिवेशन : हिमाली जिल्लामा अधिवेशन दसैँपछि « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

काँग्रेस महाधिवेशन : हिमाली जिल्लामा अधिवेशन दसैँपछि


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसले आठ वटा हिमाली जिल्लाको जिल्ला अधिवेशन दसैँपछि गर्ने भएको छ ।

निर्वाचनको केही प्रक्रिया बाँकी रहेकोले हालसम्म अधिवेशन सम्पन्न हुन नसकेका जिल्लाको अधिवेशन अब दसैँपछि गरिने भएको हो ।

पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले बाँकी जिल्लाको अधिवेशन दसैँपछि गर्ने निचोडमा आफूहरू पुगेको जानकारी दिए ।

हालसम्म सोलुखुम्बु, सिन्धुपाल्चोक, रसुवा, डोल्पा, जुम्ला, दार्चुला, धादिङ र म्याग्दीमा अधिवेशन हुन सकेको छैन । जिल्ला अधिवेशन नभएकामध्ये रसुवा जिल्लामा त क्रियाशील सदस्यताको नामावली नै सार्वजनिक हुन सकेको छैन ।

हिमाली जिल्लामध्ये बाँकी १३ जिल्लामा अधिवेशन सम्पन्न भएको छ ।

ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, मनाङ, मुस्ताङ, मुगु, हुम्ला, कालिकोट, बाजुरा बझाङ, रामेछाप, गोरखा, रुकुम पूर्व जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ ।

अधिवेशन सम्पन्न भएकामध्ये बझाङ जिल्लाको शनिबारसम्म परिणाम आउने जानकारी काँग्रेसको केन्द्रीय निर्वाचन समितिले दिएको छ । १४औँ महाधिवेशनको प्रक्रियाअन्तर्गत काँग्रेसले दसैँ अगावै सबै हिमाली जिल्लाको अधिवेशन सक्ने निर्णय गरेको थियो ।

दसैँपछि हिमाली क्षेत्रमा चिसो बढ्ने र जनजीवन केही असहज हुनसक्ने भएकाले पार्टीले आफूहरूलाई यस खालको निर्देशन दिएको निर्वाचन समितिका संयोजक यादवले जानकारी दिए ।

बाँकी सबै जिल्लामा भने दसैँअघि गाउँपालिका तथा नगरपालिकास्तरको अधिवेशन गर्ने निर्णय काँग्रेसले गरेको थियो ।

काँग्रेसको महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय काँग्रेसले यसअघि नै गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस