इजरायल जाने कामदारको अन्तिम परिणाम सोमबार सार्वजनिक गरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इजरायल जाने कामदारको अन्तिम परिणाम सोमबार सार्वजनिक गरिने


२३ आश्विन २०७८, शनिबार


काठमाडौँ। इजरायलमा सुसारे (केयरगिभर) कामका लागि जान भाषा परीक्षा उत्तीर्ण गरेर प्रतीक्षामा रहेकाहरूको अन्तिम परिणाम आउँदो सोमबार सार्वजनिक गरिने भएको छ ।

वैदेशिक रोजगार विभागबाट लिइएको अन्तर्वार्ताबाट छनोट भई इजरायल सरकारका तर्फबाट छनोटको प्रतीक्षामा रहेकाहरूको प्रतीक्षाको समय सोमबार सकिने भएको हो ।

नेपाली समयअनुसार सोमबार दिउँसो साढे १२ बजे इजरायलको जेरुसेलममा सम्बन्धित निकायका प्रमुखहरूको उपस्थितिमा लट्रीमार्फत श्रमिकको छनोट गरिनेछ । हाल भाषा परीक्षणमा उत्तीर्ण भएका एक हजार ६०० जनामध्येबाट एक हजार जना छनोट गरिनेछ ।

इजरायलमा हुने उक्त लट्रीको नेपालस्थित इजरायली दूतावासको फेसबुक पेज ‘इजरायल इन नेपाल’मार्फत उम्मेदवारहरूले प्रत्यक्ष हेर्न सक्ने दूतावासले जानकारी दिएको छ ।

विभागले अन्तर्वार्ताबाट छनोट भएका एक हजार १२० महिला र ४८० जना पुरुष गरी एक हजार ६०० जनाको सूची गत १० गते नै नेपालस्थित इजरायली दूतावासमा पठाएको थियो ।

यसरी रोजगारीमा जानेहरूले एक वर्षको करार अवधिका लागि जाने भए पनि पाँच वर्षसम्म भिसा थप गरेर काम गर्न सक्छन् । इजरायल जान करिब एक लाख ६५ हजार ७०० रुपियाँसम्म खर्च लाग्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस