प्रदेश २ को प्रदेशसभाबाट आज दुई विधेयक पारित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रदेश २ को प्रदेशसभाबाट आज दुई विधेयक पारित


२२ आश्विन २०७८, शुक्रबार


धनुषा । प्रदेश नं २ को प्रदेशसभामा दुई विधेयक पारित गरिएको छ । आज बसेको बैठकले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ र स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७८ गरी दुई वटा विधेयक सर्वसम्मतिले पारित गरेको हो ।

दुई महिनाअघि प्रदेशसभामा पारित प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालय पठाइएको दुवै विधेयक थप संशोधनका लागि तत्कालीन प्रदेश प्रमुख राजेश झा अहिराजले सुझावसहित पुनः प्रदेशसभामा पठाएका थिए ।

सुझावलाई समावेश गरी प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत साहले प्रदेश पदकसम्बन्धी विधेयक र सामाजिक विकासमन्त्री नवलकिशोर साहले स्वास्थ्य सेवासम्बन्धी विधेयक आजको बैठकमा सभामुख सरोजकुमार यादवले निर्णयार्थ पेश गरेपछि सर्वसम्मतबाट पारित भएको हो ।

बैठकमा स्वास्थ्य विधेयकमाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यले प्रदेश २ को सरकारी अस्पतालको अवस्था दयनीय रहेकाले उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका थिए ।

स्वास्थ्य विधेयकमाथिको छलफलका क्रममा नेपाली कांग्रेसका शिवचन्द्र चौधरी, जसपाका रामआशिष यादव, लोसपाका रानी शर्मा तिवारी, परमेश्वर साह, नेकपा एमालेका किशोरी साहलगायतले सुझाव दिएका थिए । उनीहरुले प्रदेशको नाम र राजधानीबारे चाँडो टुङ्गो लगाउनुपर्ने सुझाव पनि दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस