स्वास्थ्यमन्त्री खतिवडाद्वारा पदभार ग्रहण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यमन्त्री खतिवडाद्वारा पदभार ग्रहण


२२ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासबाट पद तथा गोपनीयताको शपथग्रहण गरेपछि मन्त्री खतिवडाले आजै रामशाहपथस्थित मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।

मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै जनताले सहजरूपमा स्वास्थ्य सेवा लिन पाउने वातावरण उपलब्ध गराउने बताए। ‘सकेसम्म धेरै जनताले सेवा सुविधा सहज ढङ्गले प्राप्त गराउने उद्देश्यका साथ मेहनत र इमान्दारीका साथ काम गर्ने छु’, उनले भने । उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न आफू केन्द्रीत हुने बताए ।

मन्त्री खतिवडालाई स्वास्थ्यसचिव डा रोशन पोखरेल, मन्त्रालयका प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले स्वागत गरेका थिए ।

विसं २०१५ फागुन १० गते मकवानपुरको गढी गाविस (हाल हेटौँडा–१७, हटिया, राजदेवी) मा जन्मनुभएका खतिवडा मकवानपुरबाट २०४८ सालदेखि नै संसदीय निर्वाचनमा निर्वाचिन हुँदै आएका छन् । उनले २०४८ साल, २०५१ सालको मध्यावधि र २०५६ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका छन्। पछिल्लो पटक उहाँ मकवानपुर क्षेत्र नं २ बाट २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका हुन् ।

भुटनदेवी माविबाट २०३३ सालमा एलएलसी उत्तीर्ण गरेका उनले नेपाल ल क्याम्पसबाट कानून सङ्कायमा स्नातक उत्तीर्ण गरेका छन् । भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय उनी २०३५/०३६ सालमा मकवानपुर जिल्लाको पार्टी जिल्ला कमिटीमा रहेका थिए ।

विसं २०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय उनी २०४३ सालमा मकवानपुरबाट राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा जनपक्षीय उम्मेदवार बनेका थिए । हाल नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य रहेका उनले तत्कालीन नेकपा एमालेको केन्द्रीय सदस्यको जिम्मेवारीमा रही भूमिका निर्वाह गरिसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस