रानीपोखरी प्रवेशद्धार र फल्चाको शिलान्यास « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

रानीपोखरी प्रवेशद्धार र फल्चाको शिलान्यास


२२ आश्विन २०७८, शुक्रबार


भक्तपुर । भक्तपुरको ऐतिहासिक महत्व बोकेको रानीपोखरी पुनःनिर्माणको क्रममा आज पोखरी प्रवेश गर्ने उत्तरपूर्व प्रवेशद्धार र फल्चा अर्थात पाटी निर्माणको शिलान्यास गरिएको छ ।

भक्तपुर नगरपालिकाले पुनःनिर्माण गर्दै आएको भक्तपुर नपा–१ सल्लाघारीस्थित रानी पोखरीको नगरप्रमुख सुनील प्रजापतिले शिलान्यास गरेका हुन् । नगरप्रमुख प्रजापतिले सन् १६८६ मा राजा जगज्योति मल्लको पालामा निर्माण भएको भक्तपुरको रानीपोखरीले यहाँको सुन्दरता अझ बढाएको बताउँदै देशकै सुन्दर नगरको रुपमा विकास गर्न नगरपालिका निरन्तर सम्पदा संरक्षणमा लागिरहेको बताए ।

भक्तपुरमा रहेको सांस्कृतिक एवं पुरातात्विक सम्पदाको सुन्दरतालाई आर्थिक स्रोतमा रुपान्तरण गर्न सकिने बताउँदै उनले भक्तपुर नपाले आफ्नै स्रोतमा यहाँका सम्पदा पुनःनिर्माण गर्दै आइरहेको चर्चा गरे ।

कला संस्कृति संरक्षणलाई प्रमुख प्राथमिकतामा राखेर भक्तपुर नपाले भूकम्पबाट भत्केका १०८ वटाभन्दा बढी सम्पदा पुनःनिर्माण तथा जीर्णोद्धार गरिसकेको बताउँदै नगरप्रमुख प्रजापतिले ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणसँगै इतिहास खोतल्ने काम भएको बताए ।

लामो इतिहास बोकेको यस पोखरी मौलिक शैलीमा निर्माण गरिएको अवगत गराउँदै उनले भक्तपुरलाई कला संस्कृतिको मात्र नभई सुन्दर नगरको रुपमा विकास गर्ने उद्देश्य राखेको बताए ।

भनपा–१ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले रानीपोखरी पुनःनिर्माण सकिएपश्चात यथाशिघ्र सर्वसाधारणको लागि खुल्ला गरिने भन्दै पोखरी वरिपरि हरियाली कायम गर्न बगैँचा बनाउने योजनामा रहेको बताए ।

इतिहासविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले सम्पदा मौलिक स्वरुपमा पुनःनिर्माण गर्ने कार्यमा भक्तपुर नपाले अग्रणी भूमिका निर्वाह गरेको बताउँदै भक्तपुरको रानीपोखरीको पुनःनिर्माणले भक्तपुरको सम्पदाको थप उजागर भएको भनाइ राखे ।

उपभोक्ता समितिका अध्यक्ष पुन्यराम गारु, कोषाध्यक्ष सुमित्रा धोँजु र स्थानीय कृष्ण गारुले रानीपोखरीको महत्वबारे प्रकाश पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस