कांग्रेसको प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच नयाँदिल्लीमा भेटवार्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेसको प्रतिनिधिमण्डल र भाजपाका अध्यक्षबीच नयाँदिल्लीमा भेटवार्ता


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच आज साँझ भेटवार्ता भएको छ ।

नेपाली कांगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले आज साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए ।

सो भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो । नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर्ने शैलीका साथै अन्य साङ्गठनिक आदानप्रदानका बारेमा कुराकानी भएको सहमहामन्त्री डा महतले बताए ।

भेटका क्रममा अध्यक्ष नड्डाले भारत र नेपालबीचको सदियौँ पुरानो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै भारतले नेपाललाई कहिल्यै पनि ठूलो दाजुको मानसिकताबाट नहेरेको र हेर्न नहुने स्पष्ट गरेको सहमहामन्त्री डा महतले जानकारी दिए ।

समयसमयमा हुने यस्ता प्रकारका भ्रमण र भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र कतिपय संवेदनशील विषयको बुझाइ र समझदारीमा पनि सहयोग पुग्ने धारणा अध्यक्ष नड्डाले राखेको पनि डा महतले जानकारी दिए ।

उनले भारतीय जनता पार्टी तथा भारत सरकारले नेपाली नागरिकको भावनाको सदैव सम्मान गर्ने भन्दै दुवै देशका नागरिकको भावना बुझेर जनताजनताबीचको सम्बन्धलाई थप विकसित गर्ने पक्षमा भाजपा र नेपाली कांग्रेस लाग्नुपर्ने पनि बताएका छन् ।

भेटका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाजपा अध्यक्ष नड्डालाई दिनुभएको नेपाल भ्रमणको निमन्त्रणा आफूले हस्तान्तरण गरेको जानकारी पनि डा महतले दिए ।

उक्त द्विपक्षीय भेटमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि थिए । पूर्वपरराष्ट्रमन्त्री समेत रहनुभएका सहमहामन्त्री डा महतको निमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए ।

त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत पुगेको हो । सो टोलीले पाँच दिनको भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस