कोसी कोरिडोरको पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सकियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोसी कोरिडोरको पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सकियो


२१ आश्विन २०७८, बिहिबार


काठमाडौँ। कोसी कोरिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको प्रसारण लाइन निर्माण सकिएको छ ।

त्यसअन्तर्गत सुनसरीको इनरुवाबाट सङ्खुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने र टावरको एकतर्फ मात्र तार तान्ने काम सकिएको हो ।

नेपाल विद्युत् प्राधिकरण र भारतीय एक्जिम बैङ्कले धनकुटाको हिलेमा संयुक्त कार्यक्रम आयोजना गरी उक्त काम सकिएको घोषणा गरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारण लाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैङ्क दिएका सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैङ्कबाट आयोजनाका लागि नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण प्राप्त भएको छ ।

कोसी कोरिडोर प्रसारण लाइन आयोजनामार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघु ९ताप्लेजुङ०देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने जनाइएको छ ।

यससँगै, प्रदेश १ का जिल्लाहरूमा प्रसारण तथा वितरण सञ्जाल बन्नेछ । कार्यक्रममा एक्जिम बैङ्कका प्रतिनिधि विश्वजित गर्गले प्रसारण लाइन आयोजनाको पहिलो प्याकेज निर्माण सम्पन्न भएको साँचो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हस्तान्तरण गरेका थिए ।

त्यस अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्रसारण लाइन निर्माणपछि प्रदेश १ मा विद्युत् प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको र कोसी कोरिडोर तथा काबेली कोरिडोर प्रसारण लाइनलाई जोड्न लागिएको जानकारी दिए ।

ऊर्जा मन्त्रालयका सहसचिव भेटुवालले प्रसारण लाइनको निर्माणबाट अरुण र तमोर जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् ग्राहकसम्म पु¥याउन पूर्वाधार तयार भएको र यस क्षेत्रका खोलानालामा जलविद्युत् आयोजना निर्माणका लागि निजी क्षेत्रको लगानीलाई थप सुनिश्चित बनाएको बताए ।

नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख नामाज्ञा सी। खाम्पाले भारतले जारी गरेको अन्तरदेशीय विद्युत् व्यापार निर्देशिकाबमोजिम नेपालले भारतबाट विद्युत् खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताए ।

धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले अब जनतालाई विद्युत् जाँदैन भन्ने सुनिश्चित गर्नतर्फ केन्द्रित हुन प्राधिकरणलाई सुझाव दिए ।

प्राधिकरणले कोसी कोरिडोरमा निजी तथा सरकारी तवरमा निर्माण हुने जलविद्युत् आयोजनाहरूको वर्तमान कार्य प्रगति तथा भावी योजनालाई ध्यानमा राखेर आयोजनाहरूबाट उत्पादन हुने विद्युत् प्रसारणका लागि सो लाइनको दोस्रो सर्किटको तार तान्ने कार्य र सम्बन्धित सब–स्टेसनहरूमा २२० केभी लाइन बे तथा पावर ट्रान्सफर्मरहरूको क्षमता विस्तार गर्ने योजना बनाएको छ ।

दोस्रो चरणको निर्माण कार्य अर्थात् दोस्रो सर्किट तार तान्ने र सम्बन्धित सब–स्टेसनहरूको क्षमता विस्तारका लागि आवश्यक अनुमानित लागत ४० मिलियन अमेरिकी डलर नेपाल सरकारमार्फत नेपाल विद्युत् प्राधिकरणलाई लगानी जुटाइदिने सम्बन्धमा भारतीय एक्जिम बैङ्कलाई पत्राचार गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस