नेपालमा सवा तीन करोड खोप आउने निश्चित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपालमा सवा तीन करोड खोप आउने निश्चित


२० आश्विन २०७८, बुधबार


काठमाडौँ। केही दिनभित्रै सवा तीन करोड कोरोनाविरुद्धको खोप नेपाल भित्रिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।

विभिन्न देशबाट विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोपमध्ये फाइजर, कोभिसिल्ड, भेरोसेल खोप केही दिनभित्रै नेपाल भित्रिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘केही दिनभित्रै कोभिसिल्ड आउने छ । अरू कम्पनीको खोप पनि आउँदै छन् ।’

मन्त्रालयको परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालले सवा तीन करोड मात्रा खोप आउने निश्चित भएको जानकारी दिए । तत्काल भारतबाट कोभिसिल्ड खोप १० लाख मात्रा आउन लागेको उनले जानकारी दिए ।

यसैगरी चीनबाट थप १६ लाख मात्रा खोप अनुदानमा आउने भएको छ । मन्त्रालयका अनुसार दशैँलगत्तै एक लाख फाइजर खोप आउने छ । उक्त खोप अस्पतालमा रहेका दीर्घरोगीहरूलाई लगाइने छ । फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिकालाई समेत लगाउन मिल्ने खोप हो ।

माल्दिभ्सबाट दुई लाख मात्रा खोप पनि छिटै आउन लागेको बताइएको छ । क्यानडाबाट चार लाख मात्रा खोप आउने भएको छ । यसैगरी, फाइजर खोप ६० लाख मात्राका लागि पनि प्रक्रिया सुरु भइसकेको छ । मन्त्रालयका सह प्रवक्ता डा. अधिकारीका अनुसार मोडर्ना खोप ४० लाखका लागि पनि सुनिश्चित भएर प्रक्रियामा रहेको छ ।

आगामी पुसभित्र सवा करोड खोप नेपाल आइसक्ने र नेपालले कोभ्याक्स सुविधामार्फत पाउने ६० लाख मात्रा खोप आउन बाँकी रहेको जानकारी उनले दिए।

यस्तै, चीनसँग खरिद सम्झौता भएको थप ६० लाख मात्रा खोप पनि नेपाल ल्याइने प्रक्रियामा छ । हालसम्म एक करोड ७८ लाख ५८ हजार मात्रा खोप यसअघि नै आइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस