न्याय खोज्दै पैदल यात्रामा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

न्याय खोज्दै पैदल यात्रामा


१९ आश्विन २०७८, मंगलबार


धादिङ । महिलामाथि भएको घरेलु हिंसामा पीडकलाई कारबाहीको माग गर्दै बाँकेका महिला अधिकारकर्मी र पीडितपरिवार सिंहदरबार जाँदै छन्।

उन्नाइसौँ दिनको यात्रामा धादिङको गल्छीबाट मंगलबार काठमाडौँतर्फ लागेका अधिकारकर्मीले घरेलु हिंसामा महिला हत्या भएकाले पीडितलाई न्याय र आरोपीलाई कारबाहीका लागि दवाब दिन पैदलयात्रामा रहेको बताएका छन्।

बाँके जिल्ला जानकी गाउँपालिका–२ की ३८ वर्षीया ननपुन्नी धोबीको गत साउन ५ गते राति घरेलु हिंसाका कारण हत्या भएको मृतकका माइतीको आरोप छ। बाँके जिल्ला प्रहरी कार्यालयले भने झुण्डिएर आत्महत्या गरेकामा अनुसन्धानबाट घरेलु हिंसा भएको देखिए आत्महत्या दुरुत्साहनअन्तर्गत कारबाही गर्नुपर्ने बताएको थियो।

महिलाको माग र १९ दिनसम्मको धर्नाका कारण पीडित पक्षले कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी ल्याएका कारण पीडितको मागबमोजिम मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको जनाइएको थियो।

यसैगरी नेपालगञ्ज उपमहानगरपालिका–१७ की ५० वर्षीया निर्मला खातुनलाई अपहरणपछि बेपत्ता पारिएकाले अनुसन्धान गरी कारबाहीको माग गरिएको छ। लामो समयदेखि निर्मला हराएकाले उनको जग्गा जमिन व्यक्तिको नाममा दर्ता गराइएका कारण घटना रहस्यमय भएकाले अनुसन्धान हुनुपर्ने उनीहरूको माग छ।

प्रहरीले चासो नदिएको आरोप लगाउँदै माग सम्बोधन गराउन पैदल यात्रामा आएको अधिकारकर्मी रुबी खानले बताइन्। अपहरणसम्बन्धी मुद्दा जिल्ला प्रहरी कार्यालयमा २०७७ मङ्सिरमा दर्ता गराइएको थियो।

मुद्दा दर्ता गरेर घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बाँके जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको भनाइ छ।

पैदल यात्रामा ११ महिला र तीन पुरुष सहभागी छन्। उन्नाइस दिनदेखि हिँडेका कारण खुट्टा सुन्निएको र सकस भएको देखिन्छ। महिला हिंसाका घटनामा प्रहरीले जाहेरी दर्ता नगर्ने, महिला जाहेरी दर्ता गराउन जाँदा अभद्र व्यवहार गर्ने गरिएकाले मानवअधिकार संरक्षण र सुरक्षाका लागि सिंहदरबार गुहार्न जान लागेको खानको भनाइ छ।

Tags :
प्रतिक्रिया दिनुहोस