काठमाडौँ । १ महिनापछि अनिवार्य अवकाश पाउन लागेका स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. आरपी बिच्छाको सेवा अवधि थप गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाएको छ ।
आगामी ६ कात्तिकमा अवकाश पाउदै गरेका बिच्छालाई प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणाको रुचीमा महानिर्देशक बनाइएको थियो । देउवापत्नी राणाकै विशेष रुचीमा डा. बिच्छाको तीन वर्ष सेवा अवधि थप्ने गृहकार्य भइरहेको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।
स्वास्थ्य सेवा ऐनको दफा, ४२ को उपदफा १ मा स्वास्थ्य सेवाका कर्मचारीको सेवा उमेर हद ६० वर्ष तोकिएको छ । सोही ऐनको दफा २ मा दफा १ मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले विशेषज्ञ सेवा आवश्यक ठानेमा बढीमा तीन वर्ष सेवाअवधि थप्न सक्ने प्रावधान छ ।
कानुन शाखाले महानिर्देशकका रुपमा सेवा अवधि थप गर्न नसकिने तर स्वास्थ्य सेवा ऐनअनुसार विशेषज्ञ सेवाका लागि सरकारले चाहेमा सेवाअवधि थप गर्न सक्ने बताएको छ ।