सडक हिलाम्य, यात्रा गर्न सास्ती « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सडक हिलाम्य, यात्रा गर्न सास्ती


१९ आश्विन २०७८, मंगलबार


गलेश्वर । म्याग्दी सदरमुकाम बेनीबजारदेखि ग्रामीण भेगसम्म खनिएका सडक हिलाम्य हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ । बाढी र पहिराका कारण सडक ठाउँ ठाउँमा भत्किए पनि तिनको मर्मत हुन नसक्दा यात्रा असहज बनेको छ ।

बेनीबजारदेखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सात सडकको अवस्था नाजुक छ । सबै सडक जीर्ण अवस्थामा छन् । वर्षाको समयमा आएको बाढी पहिरो र मर्मत सम्हारको अभावमा सडकमै खोलो बग्ने गरेको छ भने कतिपय सडकमा पोखरी बनेको छ ।

बेनी–अर्थुङ्गे–पुलाचौर, बेनी–पाखापानी, बेनी–बगरफाँट–भकिम्ली, बेनी–हाँडेभीर–बरंजा, बेनी–भकुण्डेलगायत सडक अहिलेसम्म पनि मर्मत गरिएका छैनन् । यात्रुले ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

प्राविधिक अध्ययन र वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकन जथाभाबी डोजर लगाएर खनिएका सडकको अवस्था अत्यन्त दयनीय छ । ‘यहाँका कतिपय सडकमा थोरै पानी पर्दा पनि मोटरसाइकल समेत चलाउन नमिल्ने हुन्छ’, स्थानीयवासी राजकुमार सुवेदीले भने।

बेनी–भकुन्डे सडकको अवस्था झन् दयनीय छ । बेनी–भकुन्डे सडकमा सवारीसाधन चल्न थालेको १३ वर्ष भयो । तर उक्त सडकको स्तरोन्नति अहिलेसम्म हुन सकेको छैन ।

विसं २०६५ मा उक्त सडक सञ्चालनमा आएको हो । साढे सात किलोमिटर लामो सो सडक मर्मतका लागि हालसम्म रु एक करोड खर्च भइसकेको छ । सडकको दिन प्रतिदिन बिग्रिँदै गएको स्थानीय शोभित सापकोटाले बताए । बेनी–भकुन्डे सडकखण्डमा हालसम्म जिप र मोटरसाइकलबाहेक अन्य ठुला सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । ‘पानी नपर्दा मात्रै सवारीसाधन चलाउन सहज हुन्छ’, उनले भने ।

बेनी–बगरफाँट–बरङ्जा सडकको पनि यस्तै अवस्था छ । उक्त सडकको मर्मत गर्न थालेको तीन वर्ष भयो । सडकको अवस्था हालसम्म उस्तै छ । निर्माण व्यवसायी नारायण जिसीले ठेक्का लिएको यो सडकको मर्मत कार्य तीन वर्षमा तीन प्रतिशत पनि हुन सकेको छैन । सत्र किलोमिटर दूरीको उक्त सडक सदरमुकाम बेनी बजारदेखि दुई किलोमिटर दुरीमा रहेको बगरफाँटसम्म पनि मर्मत हुन नसक्दा सडकमै पोखरी बनेको छ ।

सडक स्तरोन्नति र मर्मतको जिम्मा लिएका जिसी कन्स्ट्रक्सन जिसीले बर्खामा बाढी पहिरो र त्यस अघि कोरोनाको असरका कारण निर्धारित समयमा नै सडकको काम हुन नसकेको बताए । त्यसैगरी बेनी–अर्थुङ्गे–पुलाचौर सडकको अवस्था पनि नाजुक छ ।

थोरै पानी पर्दा पनि सडकमा हिँड्न गाह्रो हुने स्थानीयवासी शिव बानियाँले बताए । बेनी–पाखापानी सडकको अवस्था पनि यस्तै रहेको छ । सडक मर्मतको नाममा स्थानीय सरकार र प्रदेश सरकारबाट करोडौँ रुपैयाँ खर्च भइसकेको छ । सडकको अवस्थामा सुधार हुन नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस