नेपाल प्रहरी र सशस्त्रको रासन भत्ता १५ प्रतिशत बढ्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल प्रहरी र सशस्त्रको रासन भत्ता १५ प्रतिशत बढ्यो


१९ आश्विन २०७८, मंगलबार


काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ) को मासिक रासन भत्ता १५ प्रतिशतले बढेको छ ।

बढेको रासन सुविधा गत साउन १ देखि लागु हुने गरी अर्थ मन्त्रालयले फाइल सदर गरेको हो ।

पूर्ववर्ती सरकारले अध्यादेशबाट ल्याएको बजेटमै रासन वृद्धिको निर्णय गरिए पनि उक्त प्रावधान कार्यान्वयन नहुँदा बढेको भत्ता दिइएको थिएन ।

केपी शर्मा ओली प्रधानमन्त्रीबाट हटेपछि शेरबहादुर देउवाको नेतृत्वमा बनेको गठबन्धन सरकारले अघिल्लो सरकारले गरेको निर्णय कार्यान्वयन गर्दै भत्ता बढाएको हो ।

नयाँ सरकार गठनपछि प्रतिस्थापन विधेयक मार्फत ल्याइएको बजेटमा उल्लेखित रासन वृद्धिको व्यवस्था अनुसार अर्थमन्त्री शर्माले सोमबार फाइल सदर गरेका हुन् ।

अर्थ मन्त्रालयका अनुसार जिल्ला दररेट निर्धारण समितिको सिफारिसका आधारमा अर्थ मन्त्रालयले हिमाली, पहाडी, तराई र उपत्यकाका जिल्लाको महँगी र सुगम दुर्गम हेरेर रासनबापतको रकम विनियोजन गर्दै आएको छ ।

बढेको रासन अनुसार रकम भुक्तानीमा हरेक वर्ष सरकारलाई १ अर्ब १७ करोड रुपैयाँ व्ययभार थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस