ललिता निवास जग्गा प्रकरण : नेपाल र डा. भट्टराईविरुद्धको मुद्दामा कार्तिक १५ गते फैसला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

ललिता निवास जग्गा प्रकरण : नेपाल र डा. भट्टराईविरुद्धको मुद्दामा कार्तिक १५ गते फैसला


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईविरुद्धको मुद्दामा आउँदो कार्तिक १५ गते फैसला सुनाउने भएको छ ।

आज (सोमबार) प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश नहकुल सुवेदीको इजलासले सोमबार दिनभर बहस सुनेपछि उक्त विवादमा निर्णय सुनाउने दिन तोकेका हुन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार सर्वोच्च अदालतले कात्तिक १० सम्ममा बहस नोट पेश गर्न दुवै पक्षलाई आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवासको जग्गा प्रकरणमा नेपाल र भट्टराईलाई अख्तियारले मुद्दा नचलाएको भन्दै अख्तियार समेतलाई विपक्षी बनाएर रिट दायर गरेका थिए । २०७६ माघ २९ मा दर्ता भएको न्यौपानेको रिटमा सर्वोच्चले यसअघि नै अग्राधिकार दिएपनि सुनुवाई हुन सकेको थिएन ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगलले २०७६ माघ २२ मा बालुवाटारस्थित ललितानिवास क्याम्पको करीब १३६ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउन भूमिका खेल्ने १७५ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा चलाएको थियो । अख्तियारले उनीहरूमध्ये पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ११० जनालाई जरिवाना र कैद सजाय माग गरेको थियो भने ६५ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस