सरकारलाई नेविसंघको प्रश्न : चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा किन जनगणना नगरेको ? « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारलाई नेविसंघको प्रश्न : चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा किन जनगणना नगरेको ?


१८ आश्विन २०७८, सोमबार


काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले चुच्चे नक्सामा समेटिएका महाकाली पारिका गाउँमा जनगणना गर्न सुपरिवेक्षक किन नपठाएको भन्दै सरकारसँग प्रश्न गरेको छ ।

जनगणनाको अन्तिम दिनसम्म महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन नसकेको विषयमा नेपाल विद्यार्थी संघको गम्भीर ध्यानाकर्षण भएको महामन्त्री बलदेव तिमल्सिनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पहिलो चरणको सूचीकरणका लागि उक्त क्षेत्रमा जान नेपालबाटै बाटो नभएको र भारतको बाटो भएर जानका लागि सरकारले नअह्राएको भन्दै जिल्ला तथ्याङ्क कार्यालयले सुपरिवेक्षक नै पठाएको छैन ।

महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङरुक, तिंकर र त्योसँगै जोडिएको कालापानी, लिपुलेक क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन । अहिले पनि घरपरिवार सूचीकरण हुन नसक्नु दुखद विषय हो, नेविसंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

चुच्चे नक्सामा परेको क्षेत्रमा नेपाली भूमि भएरै जान सुपरिवेक्षकका लागि बाटो नभएको, भारत भएर जान सुरक्षाको चुनौती र नेपाली भूमिमा नेपालबाटै पुग्ने बाटो नभएसम्म गणनाको लगत सङ्कलन गर्न कठिन देखिएको हुँदा त्यसका लागि कूटनीतिक पहल गर्न नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग नेविसंघले माग गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस