कुमार पौडेलको ‘फेक इन्काउन्टर’मा जाहेरी दर्ता गरी जवाफ पठाउन सर्वोच्चकाे आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कुमार पौडेलको ‘फेक इन्काउन्टर’मा जाहेरी दर्ता गरी जवाफ पठाउन सर्वोच्चकाे आदेश


१६ आश्विन २०७८, शनिबार


काठमाडौँ । सर्लाहीका कुमार पौडेललाई प्रहरीले ‘फेक इन्काउन्टर’ बाट हत्या गरेको घटनामा जाहेरी दर्ता गर्न आदेश दिएको तीन दिनपछि सर्वोच्च अदालतले उक्त आदेश कार्यान्वयन गर्न सरकारी वकिलको कार्यालयलाई पत्राचार गरेको छ ।

सर्वोच्च अदालतका मुद्दा तथा रिट महाशाखा अन्तर्गतको ‘रिट क’ शाखा प्रमुख चन्द्रप्रसाद पन्थीले शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालयलाई जाहेरी दर्ता गरेर त्यसको जानकारी अदालतलाई पठाउन पत्राचार गरेका हुन् ।

कुमार पौडेलकी आमा दुर्गादेवीले छोराका हत्यामा संलग्नलाई कारबाही माग गर्दै सुरुमा प्रहरी कार्यालय र त्यसपछि सरकारी वकिलको कार्यालयमा जाहेरी दिन प्रयास गरेको भए पनि दर्ता गरिएको थिएन । त्यसपछि उनले सर्वोच्च अदालतमा जाहेरी दर्ता गरेर अनुसन्धान गर्न माग गर्दै निवेदन दिएकी थिइन् ।

उक्त निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालले गत मंगलबार सात दिनभित्र दर्ता गरी त्यसको जानकारी सर्वोच्च अदालतलाई गराउन आदेश दिएका थिए । उक्त आदेशबमोजिमको कार्य सम्पन्न गरी अदालतलाई जानकारी गराउन भन्दै सर्वोच्च अदालतले जिल्ला सरकारी वकिलको कार्यालय सर्लाहीलाई पत्राचार गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस