जनहितका योजना अघि बढाउनुस् : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जनहितका योजना अघि बढाउनुस् : राष्ट्रपति भण्डारी


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुझाव दिएकी छन् ।

जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज यहाँ शुभारम्भ गर्दै उनले मुलुुकको सर्वाङ्गीण रुपान्तरणका लागि भौतिकसँगै मानवीय विकासलाई पनि प्राथमिकतामा राखेर काम गर्नु पर्छ भनिन् । राष्ट्रिपति भण्डारीले भनिन्, ‘जनप्रतिनिधिमूलक संस्थाले शिक्षा, सचेतना, सामाजिक जागरण अभिवृद्धि गर्दै समतामूलक समाज निर्माणमा योगदान पुर्‍याउनुपर्छ ।’

विगत दुई वर्षदेखि समग्र विश्वलाई आक्रान्त बनाएको कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा स्थानीय तहले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले भनिन्, ‘सङ्क्रमण अन्त्य भई नसकेका अवस्थामा जनताका गतिविधिलाई सहज तुल्याउन जनप्रतिनिधिलाई अपिल र आह्वान गर्छु ।’

आयोजक संस्था महासङ्घका अध्यक्ष सीता सुन्दासले आफ्नो नेतृत्वमा महासङ्घले जनहितका लागि गरेको विविध प्रयासबारे जानकारी दिइन् ।

उपाध्यक्ष सन्तबहादुर तामाङले तीन तहका सरकारबीचका विकास निर्माण र सेवा प्रवाहलगायतका कामको अनुगमन, समन्वय र सहजीकरणको जिम्मेवारीमा सबै तहले आफूलाई स्थापित गर्ने प्रतिस्पर्धामा अग्रसर हुँदा महासङ्घलाई ओझेलमा पारेको भनी गुनासो गरे । उनले जिल्ला समन्वय समितिलाई जिल्लामा सञ्चालन भएका सबैखाले योजनाको अनुगमन गर्ने एजेन्सीका रुपमा स्थापित गर्न आवश्यक रहेको तर्क प्रस्तुत गरे।

नेपाल नगरपालिका सङ्घका अध्यक्ष अशोक व्यन्जूूले सङ्घ र प्रदेश सरकारको तुुलनामा जनताका हितका खातिर स्थानीय तहले न्यायनिरुपण, बजेट तर्जुमा, विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारी भूमिका खेलिरहेको बताए ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले महासङ्घको जगका रुपमा रहेका स्थानीय तहले जनहितमा काम गर्ने सिलसिलामा कार्यक्षेत्रभित्र नपरेका र कानूनमा उल्लेख नभएका विषयमा पनि उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको उदाहरण प्रस्तुत गरे ।

राष्ट्रिय परिषद्मा मुलुकका ७७ जिल्ला समन्वय समिति महासङ्घका प्रमुख, उपप्रमुखसहितको सहभागिता छ । महासङ्घले चार वर्षमा संस्थाको आवश्यकता र प्रभावकारिताको सुझाइ स्थापित गर्न सफल भएको सो अवसरमा जानकारी दिइयो ।कार्यक्रममा राष्ट्रपति भण्डारीले प्रत्येक जिल्लाका उत्कृष्ट पाँच कामसहित पदाधिकारीका परिचय समेटिएको महासङ्घद्वारा प्रकाशित पुस्तकको लोकर्षण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस