नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु, यस्तो छ अध्यक्ष मण्डल « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

नेकपा एमालेको प्रथम विधान महाधिवेशन आजदेखि सुरु, यस्तो छ अध्यक्ष मण्डल


१५ आश्विन २०७८, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन आज (शुक्रबार) देखि सुरु भएको छ ।

ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा आयोजित सो विधान महाधिवेशन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पानसमा बत्ती बालेर र मोबाइलको बटम थिचेर लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् ।

विधान महाधिवेशनको अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली छन् । उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य छन् ।

स्थायी कमिटी सदस्यहरु रामबहादुर थापा बादल, सुवास नेम्वाङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा अध्यक्ष मण्डलमा समेटिएका छन् । अध्यक्ष मण्डलमा भीम रावल भने समेटिएनन् ।

विधान महाधिवेशनमा देशभरका ६ हजार भन्दा बढी प्रतिनिधिहरु सहभागी भएका छन् । तीन दिनसम्म चल्ने महाधिवेशनको पहिलो दिन उद्घाटन सत्रमा आज नै अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सङ्गठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्ने छन् ।

भोलि (शनिबार) समूहगत रुपमा छलफल गरी आवश्यक सुझावसहित ती प्रतिवेदनहरु पारित हुनेछन् । विधान महाधिवेशनले पार्टीको नीति र विधि तय गर्ने पार्टीका प्रवक्ता ज्ञवालीले बताए ।

एमालेले पहिलोपटक पार्टीको नीति निर्माणमा केन्द्रित भएर विधान महाधिवेशन आयोजना गरेको हो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिरको दोस्रो आयोजना हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस