सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुदूरपश्चिम प्रदेशसभाको अधिवेशन अन्त्य गर्न सिफारिस


१४ आश्विन २०७८, बिहिबार


धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्तासमेत रहेकी आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।

उनकाअनुसार असोज १५ गते शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको हो । सत्ता गठबन्धनसँग प्रमुख प्रतिपक्षीको भूमिकामा रहेको नेपाली कांग्रेस असन्तुष्ट बनेर प्रदेशसभा बैठक बहिष्कार गरेका बेला प्रदेश सरकारले हतारहतारमा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सेती प्रादेशिक अस्पतालको डीपीआर निर्माणका लागि एक करोड बजेट पनि स्वीकृत गरेको छ । यसैगरी प्रदेश लोक सेवा आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री जोशीले बताइन् । बैठकले प्रदेश उच्च शिक्षाको सम्भाव्यता अध्ययन कार्यदल गठनसम्बन्धी प्रस्ताव स्वीकृत र प्रदेश लेखा इकाई कार्यालय स्थापनाका लागि संरचना र दरबन्दी तेरिज स्वीकृत समेत गरेको उनले जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस