झापाका तीन विद्यालय पुनः बन्द « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

झापाका तीन विद्यालय पुनः बन्द


१४ आश्विन २०७८, बिहिबार


School

झापा । बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् ।

बन्द भएका सामुदायिक विद्यालय बुद्धआदर्श मावि, राष्ट्रिय विजय मावि र श्री बर्ने मावि रहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कमलप्रसाद निरौलाले जानकारी दिए ।

उनले बुद्धआदर्शका शिक्षकलाई कोरोना पोजेटिभ देखिएको र अन्य दुई विद्यालयका विद्यार्थीमा खोकी लाग्ने ज्वरो आउने समस्या देखिएका कारण बन्द गरिएको बताए । यही असोज ४ गतेदेखि मात्र विद्यार्थीको भौतिक उपस्थितिमा पालिकाका १६ सामुदायिक विद्यालय, १७ निजी विद्यालय र एउटा धार्मिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो ।

विद्यालय खोलिएको एक हप्ताभित्रमै ज्वरो आउने र खोकी लाग्ने विद्यार्थीको सङ्ख्या बढ्न थालेपछि पालिकाको शिक्षा शाखा तथा विद्यालय व्यवस्थापन समितिसँगको समन्वयमा बुधबारदेखि पठनपाठन बन्द गरिएको बर्ने माविका प्रधानाध्यापक चन्द्रप्रसाद उप्रेतीले जानकारी दिए ।

बुद्धशान्ति–७ मा रहेको राष्ट्रिय विजय माविले समेत आजबाट भौतिक उपस्थितिको पठनपाठन बन्द गर्ने निर्णय गरेको विद्यालयका प्रधानाध्यापक शिवप्रसाद पौडेलले बताए ।

जिल्ला प्रशासन कार्यालयबाट गत भदौमा जारी गरिएको आदेशमा स्थानीय तहसँगको समन्वयमा विद्यालय सञ्चालन गर्न सकिने अधिकार प्रत्यायोजन भएसँगै जिल्लाका अधिकांश स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस