राष्ट्रिय सभा सदस्यमा गौतमको मनोनयनविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राष्ट्रिय सभा सदस्यमा गौतमको मनोनयनविरुद्ध परेको मुद्दाको सुनुवाइ हुँदै


१३ आश्विन २०७८, बुधबार


काठमाडौँ । सर्वोच्च अदालतमा राष्ट्रिय सभामा वामदेव गौतमको मनोनयनविरुद्ध परेको रिटमा आज (बुधबार) सुनुवाइ हुँदै छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वको संवैधानिक इजलासमा गौतमविरुद्धको मुद्दाको सुनुवाइ हुने भएको छ ।

संवैधानिक इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा रहेका छन् । गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा २०७७ असोज १ गते राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् ।

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई उनी पराजित भएको प्रतिनिधिसभाको कार्यकाल नसकिँदै घुमाउरो बाटोबाट सङ्घीय संसद्मा पठाइएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले रिट दायर गरेका थिए । ती रिटमा सर्वोच्चबाट यसअघि अन्तरिम आदेश भने जारी भएको थिएन ।

राष्ट्रिय सभामा राष्ट्रपतिले मनोनीत गर्ने तीन सदस्यमध्ये युवराज खतिवडाको पदावधि समाप्त भएपछि रिक्त रहेको सिटमा गौतमलाई मनोनीत गरिएको थियो । गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय कार्यान्वयन नगरेको भन्दै तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व तहबाट नै दबाब दिइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस