धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सरकारले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सरकारले सोध्यो स्पष्टीकरण


११ आश्विन २०७८, सोमबार


काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले उनलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

सर्वोत्तम सिमेन्टको प्राथमिक शेयर निष्कासन गर्नुअघि नै शेयर छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको विषयमा विवादमा परेका ढुंगानालाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोधिएको स्रोतको भनाई छ ।

धितोपत्र ऐनको दफा १२ मा ‘अध्यक्ष तथा सदस्यलाई पदमुक्त गर्नुअघि नेपाल सरकारले सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित अवसरबाट बञ्चित गर्ने छैन’ भन्ने व्यवस्था अनुसार पदमुक्त गर्नुअघि ढुंगानालाई सफाइको अवसर दिन स्पष्टीकरण सोधिएको अर्थ मन्त्रालयको उच्च स्रोतले बताए ।

उनले पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभए स्पष्टीकरण चित्तबुझ्दो नभएको भनेर बर्खास्तको निर्णय हुने स्रोतको भनाई छ

धितोपत्र ऐनको दफा ११ मा दलको पदाधिकारी, धितोपत्र व्यवसायमा सलग्न, दामासाहीमा परेमा, मानसिक सन्तुलन बिग्रेमा वा नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएमा पदमुक्त हुने भन्ने व्यवस्था छ ।

ढुंगानाको हकमा धितोपत्र व्यवसायमा संलग्न भएको भन्ने उपदफा ‘ख’ अनुसारको आरोपमा कारवाही गर्न खोजिएको स्रोतको भनाइ छ ।

प्राथमिक शेयर निष्कासन गर्नुअघि नै सर्वोत्तम सिमेन्टको शेयर छोरी रेविका ढुंगानाको नाममा खरीद गरेको भेटिएपछि सरकारले अध्यक्ष ढुंगानामाथि छानबिन गर्न जाँचबुझ समिति गठन गरेको थियो ।

समितिले ढुंगानालाई धितोपत्र बोर्ड ऐन अनुसार तत्काल पदमुक्त गर्न सुझाव दिएको थियो ।

करीब ७५० रुपैयाँ मूल्य तोक्ने तयारी भएर प्रक्रिया अघि बढेको अवस्थामा सर्वोत्तम सिमेन्टको संस्थापक शेयर प्रतिकित्ता २५० रुपैयाँका दरले ढुंगानाले छोरीको नाममा खरीद गरेको जाँचबुझ समितिको प्रतिवेदनमा उल्लेख छ

Tags :
प्रतिक्रिया दिनुहोस