प्रहरी ऐनलगायत तीन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

प्रहरी ऐनलगायत तीन विधेयक संसदमा पेस गर्न स्वीकृति दिने मन्त्रिपरिषद् बैठकको निर्णय


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को आज (सोमबार) बसेको बैठकले विभिन्न तीन विधेयक संसदमा पेस गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ ।

सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले शपथ, तेजाब र प्रहरीसम्बन्धी विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

आजको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी(कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिने निर्णय गरेको उनले बताए।

त्यसै गरी सार्वजनिक पद धारण गर्ने व्यक्तिको शपथसम्बन्धी विधेयक र तेजाब तथा अन्य घातक रासायनिक पदार्थको नियमनका सम्बन्धमा बनेको विधेयक सङ्घीय संसदमा पेस गर्न स्वीकृति दिएको मन्त्री कार्कीले जानकारी दिए ।

त्यस्तै, समाज कल्याण परिषद्का उपाध्यक्ष लगायतका पदाधिकारी र सदस्यले दिएको राजीनामा स्वीकृति गर्ने र बिपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको पनि मन्त्री कार्कीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले गुल्मीका विष्णुप्रसाद सुवेदीलाई गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको पनि मन्त्री कार्कीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस