काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेकाले देशमा राजनीतिक अस्थिरता बढेर गएको बताएका छन् ।
आज (सोमबार) पार्टीका महिला नेतृहरुले जनकपुरमा आयोजना गरेको जितिया पर्वको महत्त्व विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले देशमा राजनीतिक अस्थिरता रहे पनि मधेशको समस्या समाधान गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गरिएको पनि जानकारी दिए ।
‘संविधान संशोधन, मधेश आन्दोलनकारीमाथि लगाइएको झूटा मुद्दा फिर्ता, नागरिकता समस्या समाधान, समावेशितालगायतको मुद्दामा निरन्तर सवाल उठाउँदै आइरहेका छौँ,’ ठाकुरले भने ।
अध्यक्ष ठाकुरले अन्तरिम संविधानले दिएको अधिकारसमेत कटौती गरेकाले संविधान संशोधन गर्नुपर्ने अडानमा आफ्नो पार्टी रहेको पनि स्पष्ट पारे ।







