सरकारी जग्गा प्रकरणमा अख्तियारले लियो २ सय जनासँग बयान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सरकारी जग्गा प्रकरणमा अख्तियारले लियो २ सय जनासँग बयान


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई सय जनाभन्दा बढीसँग बयान लिएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सयौँ बिघा जग्गा गैर कानुनी रूपमा बिक्री वितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियारको विशेष टोलीले स्थलगत अध्ययन, प्रमाण सङ्कलन र जग्गा दुरुपयोगमा जोडिएका व्यक्तिसँग बयान लिएको हो ।

विभिन्न समयमा नगर विकास समितिका अध्यक्ष, कर्मचारी, जमिन बिक्री र खरिद गर्ने, लिजमा दिने र लिने, जग्गा अतिक्रमण गरी अवैध संरचना बनाउनेलगायत प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जग्गा अनियमिततामा जोडिएका व्यक्तिहरूसँग बयान लिने काम भइरहेको आयोग केन्द्रीय कार्यालय स्रोतले जनाएको छ ।

बयान सँगै विभिन्न सरकारी कार्यालयहरूका निर्णय तथा अन्य कागजातहरू पनि सङ्कलन गर्ने काम भइरहेको र नगर विकास समितिका विभिन्न कार्यकालका अध्यक्ष, कर्मचारी, भू माफिया, राजनीतिक दलका नेतालगायत पनि छानबिनको दायरामा छन् ।

२०३५ साल जेठ २० मा गठन भएको महेन्द्रनगर नगर विकास समिति अन्तर्गतको जग्गा दुरुपयोग भएको हो। हाल भीमदत्तनिर नगरपालिका मातहत रहेको त्यस बेलाको विकास समितिको ६ सय ३८ बिघा ६ कट्टा ८ धुर जग्गा रहेकोमा अहिले ६० बिघा जति जमिन पनि छैन।

नगर विकास समितिका अध्यक्षहरूको तोकाधिकारका आधारमा आफ्ना, आफन्त तथा मन परेका व्यक्तिलाई न्यून मूल्यमा बिक्री गर्ने तथा न्यून मूल्यमा जग्गा लिजमा दिइदा सो जग्गा घट्दै गएको स्थानीयको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस