३२ लाख घरको गणना सकियो « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

३२ लाख घरको गणना सकियो


११ आश्विन २०७८, सोमबार


काठमाडौँ । घर तथा घरपरिवार गणना कार्य सुरु भएदेखि अहिलेसम्म ३२ लाख घर र ३० लाख परिवार गणना भइसकेको छ । गत भदौ ३० गतेदेखि गणना सुरु भएको हो ।

कतिपय घरपरिवारको प्रतिवेदन आउन बाँकी छ । सबै आउँदा यो सङ्ख्या अझै बढ्छ । सुपरिवेक्षकले दैनिक करिब तीन लाखको हाराहारीमा घर तथा घरपरिवारको गणना गरिरहेका छन् । घर तथा घरपरिवार गणना कार्यका लागि आठ हजार पाँच सय जना सुपरिवेक्षक देशभर खटिएका छन् ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार, घर तथा घरपरिवार गणना कार्य असोज १८ गतेसम्म सम्पन्न गरिने विभागको योजना छ । उक्त अवधिमा करिब ७० हजार घर तथा घरपरिवारको गणना हुने अनुमान केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।

अहिले भइरहेको घर तथा घरपरिवार गणना कार्यक्रममा सुपरिवेक्षकको कामको सहजीकरणका लागि सबै वडामा सहजीकरण समिति बनाइएको छ । उक्त समितिले सुपरिवेक्षकलाई आवश्यक समन्वय गरिरहेको निर्देशक लामिछानेले बताए ।

विदेशी दूतावासमा कार्यरत सबै नेपाली कर्मचारीको पहिलो पटक गणना हुने भएको छ । राष्ट्रिय जनगणना २०७८ को क्रममा दूतावासका कर्मचारीको गणना हुन लागेको हो । यसअघिका जनगणनामा विदेशमा रहेका कर्मचारी छुट्ने गरेका थिए ।

कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म हुने मूल गणनामा अनलाइनको माध्यमबाट विदेशस्थित दूतावास र महावाणिज्य दूतावासमा कार्यरत नेपाली कर्मचारीको विवरण पनि समावेश गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले दूतावासमा कार्यरत कुनै व्यक्तिलाई फोकल पर्सन तोकी तथ्याङ्क अनलाइनको माध्यमबाट पठाउने व्यवस्था गरिएको बताए। उनले भने, ‘यस अगाडि विदेशका दूतावासमा कार्यरत नेपाली कर्मचारीको गणना हुँदैन थियो, यो पटक भने उक्त गणनालाई थप गरिएको हो । ‘

उनका अनुसार विदेशमा गएका नेपालीको भने उनीहरूकै नेपालमा भएका परिवारसँग सबै विवरण लिएर गणना गरिन्छ । कुनै व्यक्तिको पुरै घरपरिवार विदेश गएका छन् भने त्यस्ता परिवारको गणना गरिँदैन । जनगणनाका क्रममा विदेशमा गएका नागरिकको सङ्ख्या गणना गरिए पनि कुल जनसङ्ख्यामा जोडिँदैन । ती व्यक्तिलाई अनुपस्थित विदेश भनेर राखिने लामिछानेले बताए।

यस पटकको जनगणनामा एक जना व्यक्तिले कति वटा बैङ्कमा खाता खोलेका छन् रु खाता नखोलिएका व्यक्तिको सङ्ख्या कति छ ? बैङ्कबाट ऋण लिएका र व्यवसायका लागि तालिम लिएका व्यक्ति कति जना छन् भन्ने नयाँ प्रश्नावली पनि थप गरिएको छ ।

अहिले भइरहेको घर तथा घरपरिवार सूचीकरण गणना कार्यमा आवासीय घर, खाली घर, कार्यालय प्रयोजनका लागि निर्माण गरिएको घर र कच्ची वा पक्की, घरको तला, घर निर्माण गर्दा सरकारी अनुदान लिएर बनाएको वा आफैँले बनाएको लगायतका विषय पनि प्रश्नावलीमा समावेश गरिएको छ ।

राष्ट्रिय जनगणना २०७८ का लागि देशभर ८७ वटा प्रदेश तथा जिल्ला जनगणना र ३४९ वटा स्थानीय कार्यालय सञ्चालन आएका छन् । यस पटकको जनगणनाको नारा ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नारा गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस