कर्मचारी सङ्गठनमा लगाएको ताला खोल्न मुख्यसचिवमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कर्मचारी सङ्गठनमा लगाएको ताला खोल्न मुख्यसचिवमार्फत प्रधानमन्त्रीको ध्यानाकर्षण


१० आश्विन २०७८, आइतबार


काठमाडौँ । सङ्गठनको केन्द्रीय कार्यालयमा भएको तालाबन्दी तत्काल खोली कामकाज गर्ने सहज वातावरण बनाउन नेपाल निजामती कर्मचारी सङ्गठनले मुख्यसचिव शंकरदास वैरागीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ ।

असोज ४ गतेदेखि सङ्गठनको केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि खुलाउनका लागि सङ्गठनको जिल्ला कार्यसमितिले आइतबार ७७ वटै प्रमुख जिल्ला अधिकारी र विभागीय कार्य समितिले सम्बन्धित मन्त्रालयको सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विभागीय कार्यसमितिले मुख्यसचिवमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

कर्मचारीका समस्या समाधानमा लाग्नुपर्नेमा सङ्गठनका नाममा केही अमुक र अनधिकृत व्यक्ति विभिन्न जालझेल गर्नमै व्यस्त रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विभागीय कार्यसमितिका अध्यक्ष राजेन्द्र कुरुम्वाङ तथा सचिव विज्ञान शर्मा लुइँटेलद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ ‘कुण्ठा र पूर्वाग्रहले सङ्गठन विरोधी क्रियाकलाप गर्न उद्यत रहेका अराजक झुन्डले २०७८ असोज ४ गते दिनको ४स्४५ बजे नेपाल निजामती कर्मचारी सङ्गठनको केन्द्रीय कार्यालय, बबरमहलमा आई उछृंखल नाराबाजी गर्ने, सङ्गठनको ब्यानर र झन्डा च्यात्ने, ढुंगामुढा गर्ने जस्ता आपराधिक कार्य गर्नेलाई कानुनी कारबाही गर्नुको सट्टा उल्टै सङ्गठनका आधिकारिक पदाधिकारी सदस्यहरूलाई कार्यालयभित्रबाट पक्राउ गरी, प्रहरी प्रशासनले कृत्रिम विवादको बहाना बनाई कार्यालयमा तालाबन्दी गरेको प्रति सङ्गठन घोर निन्दा, आपत्ति र भर्त्सना गर्दछ ।’

सङ्गठनले विज्ञप्तिमार्फत नै केन्द्रीय कार्यालयमा सरकारी पक्षबाट लगाइएको ताला तत्काल खोली सङ्गठनको दसौँ राष्ट्रिय अधिवेशन आगामी मङ्सिर २७ देखि २९ बाँकेबाट विधान सम्मत निर्वाचित पदाधिकारी तथा सदस्यलाई कामकाज गर्ने सहज वातावरण बनाई दिन पनि आग्रह गरेको छ ।

आफ्नो मागलाई बेवास्ता गरिए थप आन्दोलनको कार्यक्रम गर्ने सङ्गठन बाध्य हुने पनि सङ्गठनले चेतावनी दिँदै सरकारले माग पुरा नगरेर आन्दोलनमा धकेलेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सरकार स्वयमले लिनुपर्ने पनि ज्ञापन पत्रमार्फत सङ्गठनले सरकारलाई जानकारी गराएको छ ।

नेकपा एमालेको पार्टी फुटको असर निकट कर्मचारी सङ्गठनमा परेको छ । जसका कारण दुवै पक्षले अहिले समानान्तर गतिविधिहरू अगाडि बढाउँदै आएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस