काँग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

काँग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय


१० आश्विन २०७८, आइतबार


सोलुखुम्बु । नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली काँग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ ।

शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सङ्घमा आबद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा नखटाउने बताए ।

काँग्रेसका नेताबाट शिक्षकमाथि गालीगलौजका साथै मुद्दा हाली तारेख खेपाउन उद्धत देखिएकाले विज्ञप्तिमार्फत दुःख व्यक्त गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई यथोचित कारबाहीको माग गरिएको छ । विगतदेखि नै देशका सबै जिल्लामा शिक्षक क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित हुँदै आएको र सोही अनुसार जिल्लामा समेत निर्वाचित भएको भन्दै शिक्षा ऐन २०२८ को दफा १६ (ङ) को (छ) ले समेत कार्यकारिणी पदबाहेकमा बन्देज नगरेको दाबी गरिएको छ ।

क्षेत्रीय प्रतिनिधि कार्यकारिणी नभए पनि निम्छारो शब्द प्रयोग गरी आम शिक्षकको मानमर्दन हुने गरी पेसागत मर्यादालाई नजर अन्दाज गरिएको विज्ञप्तिमा उल्लेख छ । जिल्लाबाट करिब ३० जना शिक्षक तथा निजामती कर्मचारी क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् । तीमध्ये रिट परेका पाँच जना प्रतिनिधिविरुद्ध उच्च अदालत विराटनगर अस्थायी इजलास ओखलढुङ्गाले शुक्रबार अल्पकालीन आदेश जारी गर्दै राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी नगर्न नगराउन भनेको छ ।

जिल्ला प्रशासन कार्यालयसमेतलाई विपक्षी बनाइ मिलन बस्नेतद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ठाकुरप्रसाद शर्मा पौडेलको इजलासले अल्पकालीन आदेश जारी गरेको हो । जिल्लाभरि चार शिक्षक र एक निजामती कर्मचारी मात्रै क्षेत्रीय प्रतिनिधि नभई करिब ३० भन्दा बढी निर्वाचित भएका सन्दर्भमा अदालतको आदेशपछि काँग्रेसभित्र तरङ्ग पैदा भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस