बेलायतमा भिसी थापाको सालिक अनावरण « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बेलायतमा भिसी थापाको सालिक अनावरण


१० आश्विन २०७८, आइतबार


लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ ।

अल्डरसटस्थित प्रिन्सेस गार्डेनमा बनाइएको सालिक बौद्ध र हिन्दु परम्पराअनुसार पूजापाठ गरेपछि शनिबार अनावरण गरिएको हो ।

सो समारोहमा बेलायती रक्षा तथा भेट्रान्स राज्यमन्त्री लियो डोचेर्टी, ह्याम्पसायर काउन्टीका डेपुटी लर्ड लेफ्टिनेन्ट मणिकुमार राई, बेलायती सेनाका कमान्डर होम कमान्ड एन्ड स्ट्याण्डिङ जोइन्ट कमान्डर लेफ्टिनेन्ट जनरल इयान केभ सिबी, दूतावासकी उपनियोग प्रमुख रोशन खनाललगायतले सालिक अनावरण गरेका थिए । समारोहमा दिवङ्गत सेनाका सम्झनामा मौन धारण गरिएको थियो ।

ग्रेटर रसमोर नेपलिज कम्युनिटीका नेतृत्वमा नेपाली तथा विदेशीबाट चन्दा सङ्कलन गरी सालिक बनाइएको हो । रसमोर बरो काउन्सिलले इजाजत दिएपछि गत फेब्रुअरी २०१९ मा परियोजना प्रारम्भ भए पनि कोभिड महामारीले केही समय लम्बिएको थियो ।

सालिक बनाउन एक लाख ७० हजार पाउन्ड बढी खर्च भएको परियोजना अधिकृत ग्यारी घलेकले जानकारी दिए ।

काउन्सिलले वर्षेनी एक पाउन्डमा ९९ वर्षको लागि सालिक बनाउन जग्गा भाडा दिएको थियो भने सालिक मर्मत सम्भार पनि काउन्सिलले नै गर्ने जनाइएको छ ।

अल्डरसटमा स्थानीय समुदायसँग नेपालीको सुमधुर सम्बन्धको प्रमाणका रूपमा सालिक अनावरण भएको वेलिङटन काउन्सिलर जीव बेल्वासेले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस