गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुसी


९ आश्विन २०७८, शनिबार


डोटी । जिल्लाको जोरायल गाउँपालिका – ४ खैगाडमा वर्षौंपछि खानेपानी पुगेपछि यहाँका स्थानीयवासी निकै खुसी भएका छन् । गाउँपालिका, स्थानीयवासी तथा विदेशी दातृ निकाय युनिसेफको आर्थिक र प्राविधिक सहयोगमा उक्त वडामा सुरक्षित खानेपानी विस्तार गरिएसँगै गाउँमा खुसियाली छाएको हो । उक्त गाउँलाई एक कार्यक्रमबीच ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ गाउँका रुपमा घोषणा गरिएको हो ।

युनिसेफको रु ३६ लाख ३२ हजार ६४३।२०, जोरायल गाउँपालिकाको रु १६ लाख र रु १२ लाख ६ हजार ७९।३४ बराबरको स्थानीय जनश्रमदान गरी कूल रु ६४ लाख ३८ हजार ७२२।५४ को लागतमा खैगाडका एक सय चार घरधुरीमा खानेपानीका धारा निर्माण सम्पन्न भएको छ । उक्त वडा प्रदेशकै पहिलो ‘सुरक्षित खानेपानीयुक्त समुदाय’ घोषणा भएको युनिसेफ सुदूरपश्चिम प्रदेशका रमेश दाहालले जानकारी द्रिए । घरघरमा खानेपानीका धारा निर्माण गरिएपछि खैगाड गाउँका कम्तीमा पनि ६२४ जना नागरिक प्रत्यक्ष लाभान्वित भएको खैगाड खानेपानी उपभोक्ता समितिका अध्यक्ष भजनसिंह मडैले बताए । खानेपानी विस्तारसँगै खैगाडमा विद्युत विस्तारका लागि पहल गरिनुपर्ने स्थानीयवासीले माग गरेका छन् ।

खैगाड क्षेत्रमा मोबाइल नेटवर्क कमजोर भएकाले टावर जडान गर्न नेपाल टेलिकमको कार्यालय अत्तरियासँग पहल भइरहेको वडाध्यक्ष दिनेशकुमार मल्लले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस