दीर्घरोगीका लागि फाइजर खोप ल्याइने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

दीर्घरोगीका लागि फाइजर खोप ल्याइने


९ आश्विन २०७८, शनिबार


काठमाडौँ । एक लाख मात्रा फाइजर खोप दशैँअगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दशैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् ।

अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख मात्रा खोप कोभ्याक्स सुविधामार्फत आउन लागेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमारलाल कर्णले खोप छिट्टै आउने जानकारी दिए ।

उनका अनुसार खोप अस्पतालमा रहेका दीर्घरोगी, क्यान्सर, मिर्गौला फेल भई डायलासिस गराइरहेका, प्रत्यारोपण गरिएका व्यक्तिलाई मात्र दिइनेछ ।

फाइजर खोप अरू खोपभन्दा लगाउने तरिका फरक छ, डा. लालले भने, ‘सुरुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा खोप लगाइने छ ।’ नेपालले यसअघि नै योजना पठाउँदा कोभ्याक्समार्फत आउने फाइजर खोप दीर्घरोगीलाई लगाउने भनिएकाले तत्काल बालबालिकालाई नदिने उनले उल्लेख गरे ।

स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख सागर दाहालले एक लाख ६२० मात्रा खोप दशैँअघि नै आइपुग्ने बताए । यसअघि कोभ्याक्स सुविधाले युनिसेफसँगको सहकार्यमा फाइजर खोप भण्डारण गर्नका लागि चार वटा फ्रिज नेपालमा ल्याइएको छ ।

महाशाखा प्रमुख डा. कर्णले कोरोनाविरुद्धको खोप फाइजर सरकारले छिट्टै किन्ने तयारी भइरहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस