मकवानपुर जिल्लाको चाडपर्व सुरक्षा योजना : कालोबजारी नियन्त्रण र शान्ति सुरक्षामा जोड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मकवानपुर जिल्लाको चाडपर्व सुरक्षा योजना : कालोबजारी नियन्त्रण र शान्ति सुरक्षामा जोड


८ आश्विन २०७८, शुक्रबार


मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दसैँ, तिहार र छठलाई लक्षित गरी चाडपर्व सुरक्षा योजना ल्याएको छ । जसमा सार्वजनिक यातायातका साधनहरूमा कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्ने गरी क्षमताभन्दा बढी यात्रुहरू राख्न रोक लगाउनेदेखि चाडपर्वको समयमा यात्रुवाहक सवारी साधनहरूलाई बढी भाडा असुल्न नदिन सादा पोसाकमा प्रहरी परिचालन गर्ने योजना समेटिएका छन् । साथै सवारी साधनले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएको पाइएमा तत्काल कानुनी दायरामा ल्याउने योजना जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको छ ।

लोक मार्गमा हुनसक्ने दुर्घटना, चक्काजाम, बन्दलाई मध्यनजर गर्दै निर्वाधरूपमा सवारीसाधन सञ्चालन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली २४ सैं घण्टा स्टेण्डवाई राख्ने प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले बताए ।

प्रजिअ पाण्डेका अनुसार यात्रुहरूलाई आवतजावतका क्रममा ठगिन तथा विभिन्न किसिमका हैरानी खेप्न नदिन हेटौडा उपमहानगरपालिका एरियाको बसपार्क र चौकीटोल सुमो काउन्टरमा ट्राफिक सहितको चार्ड पर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरी यात्रुहरूलाई आवश्यक सहयोग गर्ने योजना रहेको छ ।

यसैगरी सवारी दुर्घटनामा नियन्त्रण तथा न्यूनीकरणका लागि ट्राफिक प्रहरी कार्यालयले सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय गरी जनचेतना फैलाउने र दुर्घटना न्यूनीकरणका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्ने उनले बताए ।

यस्तै मर्मत गर्नुपर्ने सडकहरू समयमा नै मर्मत गर्न पालिकाहरूलाई अनुरोध गर्नुका साथै जिल्लास्थित राष्ट्रिय सडक एवं आफ्नो अधिकार क्षेत्रभित्रका सडकहरू समयमा नै मर्मत गर्न सडक डिभिजन कार्यालय, मकवानपुरलाई अनुरोध गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले सार्वजनिक सवारी साधनहरूको टिकट सर्वसुलभ रूपमा उपलब्ध हुने व्यवस्था मिलाउने, अवैध चिज वस्तुको ओसारपसार नियन्त्रण गर्ने तथा त्यस प्रकारका वस्तुहरू ओसारपसार हुनसक्ने नाकाहरूमा विशेष निगरानी राख्ने जनाएको छ ।

जिल्लाको प्रवेश नाका तथा मुख्य–मुख्य चेक प्वाइन्टहरूमा कडाइका साथ चेकजाँचको व्यवस्था मिलाउनेदेखि राजमार्गमा सार्वजनिक यातायातका सवारी साधनहरू एवं यात्रुहरूलाई भरपर्दो सुरक्षा प्रदान गर्न जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल, नं। १४ गण, हे।क्वा।,मकवानपुरले संयुक्त रूपमा गस्ती गर्नुका साथै रातको समयमा समेत गस्तीको व्यवस्था मिलाउने योजना रहेको छ ।

प्रशासन कार्यालयले बजारमा खाद्यान्न, पेट्रोलियम पदार्थ लगायत अत्यावश्यक उपभोग्य वस्तुहरूको आपूर्ति र विक्री वितरणलाई सहज बनाई राख्न सरोकारवालाहरूसँग नियमित समन्वय गर्ने जनाएको छ ।

यस्तै औद्योगिक क्षेत्र, बजार, वित्तीय संस्था, सुनचाँदी पसल लगायत आर्थिक कारोबार हुने स्थानहरूमा सुरक्षा व्यवस्था प्रभावकारी तुल्याउनुका साथै चाडबाड लक्षित र अन्य समयमा समेत हुने चिट्ठा, अनलाइन सपिङका नाममा हुने अवैध कारोबार तथा विद्युतीय माध्यमबाट हुने ठगी नियन्त्रण गर्दै यस प्रकारका क्रियाकलापहरूबाट जोगिन सर्वसाधारणहरूलाई सचेत समेत गराइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बजारमा कृत्रिम अभाव, कालोबजारी, अस्वाभाविक मूल्य वृद्धि जस्ता क्रियाकलापलाई नियन्त्रण गर्ने र कानुन विपरीतका क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउने,घरेलु मदिरा उत्पादन तथा बेचबिखनमा रोक लगाउने र जुवा तास, कौडा खेल्ने लगायतका गैर कानुनी क्रियाकलापहरू नियन्त्रण गर्ने प्रशासनको भनाई छ ।

चाडबाडका बेला प्रयोग गरिने पटका, आतिशबाजी लगायतका विस्फोटक पदार्थको आयात, ओसार पसार, विक्री वितरण एवं प्रयोगलाई नियन्त्रण गरिनेछ भने जिल्ला प्रहरी कार्यालय, मकवानपुर र सशस्त्र प्रहरी बल नेपाल, मकवानपुरले बजार इलाकामा थप पिकेट डिउटी तथा निरन्तर गस्ती पट्रोलिङको व्यवस्था मिलाइने छ ।

राजमार्ग छेउछाउका होटेलहरूको नियमित अनुगमन गरी दूषित खाद्य पदार्थको विक्री वितरण एवं अधिक मूल्य लिने कार्यलाई नियन्त्रण गर्ने योजना पनि मकवानपुर प्रशासनले अघि सारेको छ ।

यसैगरी मठ मन्दिर लगायत अन्य धार्मिक स्थलहरूमा जनस्वास्थ्यका मापदण्ड अवलम्बन गरी भिडभाड नहुने सुनिश्चितता गरी सहज वातावरणमा पूजाआजा गर्ने व्यवस्था सम्बन्धित पक्षले मिलाउने जनाउँदै धार्मिक स्थानहरूमा भिडभाडको समयमा गरगहना लुटपाट तथा चोरी हुने कार्यलाई नियन्त्रण गर्ने भनेको छ ।

कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै प्रकारका मेला, महोत्सव, साङ्गीतिक कार्यक्रम, चिट्ठा विक्री वितरण एवं खोल्ने कार्यमा पूर्ण रूपमा रोक लगाउने तथा तिहारको अवसरमा खेलिने देउसी भैलोलाई व्यवस्थित गर्न समय निर्धारण गरिने भएको छ ।

दसैँ, तिहार र छठको समयमा लामो बिदा हुने हुँदा सो अवधिमा जिल्लास्थित कार्यालयहरू र कारागार कार्यालयको भरपर्दो सुरक्षा व्यवस्था मिलाउँदै सरकारी सवारी साधनको दुरुपयोग हुन नदिने समेत प्रशासनको भनाई छ । यसका लागि सरकारी कार्यालयहरूको सवारी साधन (सवारी पास) समेत जाँच गर्ने व्यवस्था मिलाइने छ ।

चाडपर्वको मौका छोपी तस्करी, निषेधित पदार्थ ओसारपसार, दुर्व्यसनी लगायतका अवैध एवं गैर कानुनी क्रियाकलापहरू नियन्त्रण गर्न विशेष योजना अघि सारेको जनाउँदै चाडपर्वको मौकाको फाइदा उठाउँदै हुनसक्ने नदीजन्य पदार्थको अवैध उत्खनन, ओसारपसार लगायतका अन्य क्रियाकलापहरू नियन्त्रण गर्ने प्रशासनको भनाई छ ।

साथै कोभिड–१९ को सङ्क्रमणको जोखिम यथावत् नै रहेको सन्दर्भमा आसन्न चाडपर्वहरू साङ्केतिक रूपमा मनाउन जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सबैलाई आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस