भोजपुरमा विकास निर्माणको काममा तीव्रता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोजपुरमा विकास निर्माणको काममा तीव्रता


७ आश्विन २०७८, बिहिबार


भोजपुर । भोजपुर जिल्लामा रोकिएका विकास निर्माणका काम शुरु गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लगाइएको निषेधाज्ञाका कारण जिल्लामा चार महिनादेखि विकास निर्माणको काम सञ्चालन हुन सकेको थिएन ।

कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि विकास योजनाको काम तीव्र गतिमा शुरु भएको हो । जिल्लामा सडक, पुल, भोजपुर रंगशाला लगायतको काम तीव्र गतिमा भइरहेका छन् । सञ्चालित योजना समयमा सम्पन्न हुने प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले बताए । निर्माणाधीन आयोजनाको अवलोकन गर्दै उनले जनताको आवश्यकताका आधारमा दर्जन बढी सडक, पुल, खेलमैदान निर्माणलगायत भौतिक संरचना निर्माण भइरहेकाले आफू मुख्यमन्त्रीमा नरहे पनि ती आयोजनाको पूर्णताका लागि आफ्नो सहयोग रहने बताए ।

‘यहाँका जनताले विकासको महसुस गर्ने गरी विकासका गतिविधि सञ्चालन भइरहेका छन् । प्रदेशवासीको पाँच वर्ष नै सेवा गर्ने मेरो उद्देश्य भए पनि पछिल्लो समयमा सिर्जना भएको राजनीतिक घटनाक्रमका कारण म मुख्यमन्त्रीबाट बाहिर छु,’ उनले भने, ‘तर पनि मेरो कार्यकालमा शिलान्यास भएका योजनाले पूर्णता पाउँछन् ।’

गृह जिल्लामा आएको मौकामा राईले आफूले शिलान्यास गरेको विभिन्न योजनाको अवलोकन गरेका थिए । उनले कामले गतिलिएको पाइएको र काम गर्नेक्रममा आएका विभिन्न समस्याको समाधानमा पहल गर्ने बताए ।

पूर्वमुख्यमन्त्री राईले भोजपुर सदरमुकाममा निर्माण भइरहेका अन्तर्राष्ट्रियस्तरको भोजपुर रंगशाला र किरात संस्कृतिसँग जोडिएर निर्माण भइरहेको यलम्बर सभाहलको स्थलगत निरीक्षण गरेका थिए ।

भोजपुर रंगशाला र यलम्बर सभाहल निर्माण, विभिन्न सडक विस्तारलगायत अन्य विकास निर्माणको कामलाई अघि बढाइएको छ । यस्तै स्थानीय तहहरूले पनि विकास निर्माणको कामलाई अघि बढाएका छन् । करिब १७ करोड रुपैयाँको लागतमा जिल्लाको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्मको पाँच किलोमिटर सडक र आसपाल्ड प्रविधिबाट निर्माण भएको भोजपुरको पहिलो सडकको कालोपत्रे गर्ने कार्य पनि अगाडि बढाइएको छ ।

उत्तर–दक्षिण सडक विस्तार रणनीतिक योजना अनुसार उदयपुरको मैनामनी र भोजपुरको सिमाना सुनकोशीको पुलले हतुवागढी, आमचोक गाउँपालिकाबाट भोजपुर सदुरमुकाम हुँदै संखुवासभाको किमाथाङकासम्म सडक जोड्ने लक्ष्य रहेको निवर्तमान मुख्यमन्त्री राईले जानकारी दिए ।

तराई हुँदै भोजपुरलाई उत्तर–दक्षिण सडकको पहुँचमा जोड्नका लागि प्रदेश सरकारको प्राथमिकता प्राप्त रणनीतिक वैकल्पिक सडक निर्माणका लागि एसियाली विकास बैंकको लगानीमा आरसी आईपी संस्थाले आधारभूत प्रक्रिया पूरा गरेर डीपीआर बनाउने तयारीमा जुटेको छ । तत्काललाई चतरादेखि भोजपुर सदरमुकाम हुँदै दिङलासम्म र भविष्यमा किमाथांकासम्म जोडेर वैकल्पिक राजमार्ग बनाउने योजनाका साथ काम भइरहेको छ ।

यसैगरी रामप्रसाद राई गाउँपालिकाको डढुवादेखि आरिखोलासम्मको करिब २० किलोमिटर सडक कालोपत्रे भइरहेको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत निर्माण भइरहेको यो सडकमा प्रदेश सरकारको करिब ५४ करोड लगानी रहेको छ । यस्तै प्रदेश सरकारले षडानन्द नगरपालिका –१२ तुर्केपुल–फाली दोबाटो २२ किलोमिटर सडक कालोपत्रेको काम शुरु गरेको छ । ६१ करोड ६० लाख रुपैयाँको लागतमा आस्फाल्ड प्रविधिबाट कालोपत्रे भइरहेको सो सडक आगामी दुई वर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

भोजपुरलाई छोटो सडक मार्गबाट तराईका जिल्लासँग जोड्ने लक्ष्यका साथ हतुवागढी–९ हसनपुरको चुहार र उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी जोड्ने सुनकोशी नदीमा मोटरेबल पक्की पुल निर्माण भइरहेको छ । प्रदेश १ सरकारको २१ करोड, २३ लाखको लागतमा पुल निर्माण भइरहेको हो । सदरमुकामबाट सुनकोशी पुलसम्मको लम्बाइ करिब ६५ किलोमिटर रहेको छ ।

रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिका जोड्ने कावा खोलामा प्रदेश १ सरकारको समन्वय तथा स्वीस सरकारको पाँच करोड लागतमा पक्की पुल निर्माण भइरहेको छ । यस्तै स्वीस सरकारकै तीन करोड लागतमा सिक्तेल खोलामा निर्माण भइरहेको २५ मिटर लामो पक्की पुलको काम भने अन्तिम चरणमा पुगेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

यसैगरी भोजपुर नगरपालिका–१२ टक्सार र रामप्रसाद राई गाउँपालिकाको मानेभञ्याङ जोड्ने पिखुवा खोलामा पनि पक्की पुल निर्माण थालिएको छ । पूर्वाधार विकास कार्यालय भोजपुरअन्तर्गत प्रदेश १ सरकारको ६ करोड, १३ लाख ५३ हजार लागतमा ७६ दशमलव ३ मिटर लामो मोटेरेबल पक्की पुलको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनी मार्सेली निर्माण सेवाले जनाएको छ । यसैगरी तीन करोड २४ लाख लगानीमा बन्दै गरेको आरिखोला पक्की पुलको ५५ प्रतिशत काम सकिएको छ । पुलको निर्माण अवधि २०७८ फागुनसम्म रहेको जनाइएको छ ।

तमुटार साम्पाङमा प्रदेश सरकारको ६ करोड ३३ लाख लागतमा पक्की पुल निर्माण भइरहेको छ । यो पुल २०७६ सालमा सम्झौता भएको छ भने २०७८ चैतमा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।

पिखुवा खाल्डेमा पनि तीन करोड लागतमा २० मिटर लामो पक्की पुल निर्माण भइरहेको छ । यो पुल २०७९ असारसम्ममा सम्पन्न गर्नुपर्ने सम्झौता रहेको छ । यसैगरी नखुवा खोला दोभानमा पाँच करोड ४१ लाखको लागतमा ५० मिटर लामो पुल निर्माण भइरहेको छ । नखुवा खोलामै तीन करोड २० लाख लागतमा २५ मिटर लामो अर्को पुल पनि बनिरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

जिल्लाभित्र प्रदेश सरकारको लगानी तथा समन्वयमा १३ वटा पक्की पुल बन्ने पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । तीमध्ये अधिकांश पुलको काम अन्तिम चरणमा पुगेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस