नेपाली काँग्रेस अधिवेशन: सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकाङ्क्षी « प्रशासन
Logo २२ मंसिर २०७८, बुधबार
   

नेपाली काँग्रेस अधिवेशन: सिन्धुपाल्चोकमा सभापतिका लागि आधा दर्जन आकाङ्क्षी


६ आश्विन २०७८, बुधबार


सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नजिकिँदै गर्दा जिल्ला सभापतिको लागि झन्डै आधा दर्जन आकाङ्क्षी देखिएका छन् ।

उनीहरुले आफ्नो तयारीका लागि कार्यकर्ता भेटघाट तथा नेतासँग छलफललाई तीव्रता दिएका हुन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले काँग्रेसको आउँदो महाधिवेशनमा जिल्ला सभापतिका लागि तयारी गरेको बताए। मङ्गलबार इन्द्रावती–४ को वडा अधिवेशन उद्घाटन गर्दै उनले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । गाउँपालिका राष्ट्रिय महासङ्घका महासचिवसमेत रहेका तामाङले आफूलाई नेता तथा कार्यकर्ताको साथ रहेको बताए । ‘सभापति बन्नका लागि योग्य पनि छु, पार्टीका अन्य अग्रज नेताहरुको सल्लाह पनि छ, पार्टीभित्रकै साथीहरुको चाहना र इच्छाबमोजिम नेतृत्वका लागि तयार छु’, उनले भने।

सिन्धुपाल्चोक काँग्रेसका पूर्व सचिवसमेत रहेका तामाङ गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । काँग्रेसलाई एक ढिक्का बनाएर लैजान पनि आफ्नो नेतृत्व जिल्लाले खोजिरहेको तामाङको दाबी छ । ‘काँग्रेसलाई एक ढिक्का र एकीकृत पार्टीका रुपमा अगाडि बढाउनु जिल्लामा काङ्ग्रेसभित्र गुट र उपगुटको राजनीति अन्त्य गर्न सभापतिको उम्मेदवार हुन लागेको हुँ,’ उनले भने। साथै तामाङले गाउँपालिका अध्यक्षमा नदोहोरिने बताए ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पनि सभापतिमा दाबी गरेका छन् । देशभरका स्थानीय तहमा उत्कृष्ट काम गरेर चर्चित बन्नुभएको शेर्पा जिल्ला सभापतिको तयारीमा लागेका हुन् । उनले केन्द्रमा जस्तै जिल्लामा पनि गुटैगुट भएर काँग्रेसको सङ्गठन नै धरापमा परेकाले आफ्नो उम्मेदवारी गुटरहित काँग्रेस बनाउन रहेको बताए ।

जिल्लामा हालसम्म धेरैले जिल्ला सभापतिको उम्मेदवारी घोषणा गरिसकेका छन् । इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङ, क्षेत्रीय सभापति द्वय आइतमान तामाङ र बालकृष्ण बस्नेत, हालका जिल्ला सभापति विकास लामा, पूर्व सचिव कृष्णप्रसाद न्यौपाने, पूर्व सभापति भूपेन्द्र थापा, महासमिति सदस्य प्रेमध्वज लामासमेत सभापतिको आकाङ्क्षी देखिएका छन् ।

पार्टीलाई एक ढिक्का बनाउन सहमतीय नेतृत्वको लागि छलफल चलाउन काँग्रेस कार्यकर्ताले चौतर्फी दबाब दिइरहेको नेपाली काँग्रेस सिन्धुपाल्चोकले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस