जनगणनालाई सुपरिवेक्षक परिचालन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

जनगणनालाई सुपरिवेक्षक परिचालन


६ आश्विन २०७८, बुधबार


खलङ्गा । राष्ट्रिय जनगणना– २०७८ का लागि जुम्लामा ४१ जना सुपरिवेक्षक परिचालन गरिएको छ । जनगणनाका लागि जिल्लामा सो सङ्ख्यामा सुपरिवेक्षक परिचालन गरिएको हो ।

सरकारले राष्ट्रिय जनगणना–२०७८ का कार्यक्रम यही भदौ ३० गतेदेखि आगामी मङ्सिर ९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । सोही बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर खटाइएको जिल्ला तथ्याङ्क कार्यालय जुम्लाका खरिदार कमला योगीले बताइन् ।

‘पहिलो चरणको कार्यतालिका बमोजिम सबै सुपरिवेक्षकलाई तालिम दिएर फिल्डमा खटाएका छौँ’,उनले भनिन् । आगामी असोज १८ गतेभित्र घरपरिवारको सूचीकरण कार्य गर्नेछन् । यस अवधिमा सुपरिवेक्षकले घरपरिवारमा बसोबास गर्ने सदस्य महिला, पुरुष र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको तथ्याङ्क सङ्कलन गर्नेछन् ।

पहिलो चरणको कार्य सकिएपछि गणकको छनोट प्रक्रिया हुने खरिदार योगीले बताइन् । गणक छनोट गरेर उनीहरुलाई आगामी कात्तिक १३ देखि १६ सम्म तालिम सञ्चालन गरिनेछ । जिल्लामा तथ्याङ्क सङ्कलन दुई चरणमा सञ्चालन गरिनेछ । आगामी असोज १८ र दोस्रो चरणमा आगामी कात्तिक २५ देखि मङ्सिर ९ सम्म सञ्चालन हुन्छ । दोस्रो चरण मूल गणना गर्ने कार्य हो ।

दोस्रो चरणमा गणकमार्फत प्रत्येक घरपरिवारमा पुगी प्रश्नावलीमार्फत पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायत विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणको गणनाअन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडा स्तर सामुदायिक प्रश्नावलीमार्फत वडाको आधारभूत स्रोतसाधन, पहुँच, क्षमता, पूर्वाधार र विपद्सम्बन्धी विवरण पनि सङ्कलन गरिने तथ्याङ्क कार्यालय जुम्लाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस