पुष्प व्यवसायीहरुले दसैँ र तिहारमा पर्याप्त फूल दिन नसक्ने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पुष्प व्यवसायीहरुले दसैँ र तिहारमा पर्याप्त फूल दिन नसक्ने


६ आश्विन २०७८, बुधबार


काठमाडौँ । कोरोना महामारीका कारण भएको निषेधाज्ञाका कारण नजिकिएको पर्व दसैँ र तिहारमा आवश्यकता अनुसार पर्याप्त फूलको व्यवस्थापन गर्न सक्ने अवस्थामा नभएको व्यवसायीहरुले बताएका छन् ।

निषेधाज्ञाले फूल (पुष्प) व्यवसायीहरु मर्कामा परेकाले उत्पादनमा कमी हुने भएकाले पर्याप्त मागलाई पूर्ति गर्ने अवस्था नभएको फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठले बताए । बजार अभाव र मजदुर समस्याका कारण २५ प्रतिशत उत्पादनमा कमी आउने भएकाले फूलको माग पूरा गर्न सक्ने अवस्थामा हामी छैनौँ, उनले बताए ।

व्यवसायीहरुले सरकारसँग बीमाको व्यवस्था र नीति नियमलाई प्रभावकारी बनाएर व्यवसायलाई सुरक्षित बनाउन माग गरिदिन माग गरे पनि सुनुवाइ नभएको काभ्रेका फूल व्यवसायी भोजराज तिमल्सिना बताउँछन्। कोरोना महामारीका कारण उत्पादित फूल खेर गएको र व्यवस्थित बजार नहुँदा व्यवसायीहरुले मर्का खेप्नु परेको उनको भनाइ छ । तर अन्य व्यवसाय भन्दा चाँडै पुष्प व्यवसाय पुरानै लयमा फर्किने व्यवसायीहरुले बताएका छन् ।

फूल उत्पादनको लागि नेपालको माटो उपयुक्त भएकाले पुष्प व्यवसायबाट आम्दानी गर्न सकिने भएकाले सरकारले व्यवसायीहरुलाई प्राविधिक सीपका तालिमहरु समेत दिन व्यवसायीहरुको माग छ । बढी जसो दसैँ र तिहारमा सयपत्री र मखमली फूलको बढी माग हुने गरेको छ ।

फूल व्यवसायमा करिब ४० हजार परिवार संलग्न रहेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । कृषि विभागका अनुसार २० प्रतिशत फूल अझै भारतबाट आयात हुँदै आएको र करिब तीन करोड रुपैयाँ बराबरको पुष्पजन्य वस्तु विदेशबाट निर्यात हुने गरेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस