कागबेनीमा श्रद्धालुको भिड « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

कागबेनीमा श्रद्धालुको भिड


६ आश्विन २०७८, बुधबार


गलेश्वर । यही असोज ५ गतेदेखि यस वर्षको पितृपक्ष अर्थात् सोह्र श्राद्ध सुरु भएको छ । सोह्र श्राद्ध सुरु भएसँगै हिन्दु र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा आफ्ना पितृलाई तर्पण र पिण्डदानसहित श्राद्ध गर्न भक्तजन पुग्न थालेका छन् ।

तीन वर्षअघिसम्म सोह्र श्राद्ध लागेपछि दैनिक हजारौँको सङ्ख्यामा मुक्तिनाथ र कागबेनी पुगेर श्राद्ध गर्न भक्तजनको भीड लाग्ने गरेकामा दुई वर्षयता कोरोना सङ्क्रमणका कारण स्थानीय प्रशासनले मुस्ताङ प्रवेशमा कडाइ गरेपछि भक्तजनको सङ्ख्या पनि पातलिँदै गएको हो । मुस्ताङ प्रशासनले यस वर्ष कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट वा दुवै खोप लगाएको कार्ड देखाए प्रवेशका लागि अनुमति दिने भएपछि रिपोर्ट नेगेटिभ भएका र दुवै खोप लगाएका व्यक्ति मुक्तिनाथ दर्शन तथा श्राद्ध गर्न कागबेनी र मुक्तिनाथ जान थालेका छन् ।

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गम स्थल भएकाले कागबेनी पुगेर पिण्डदान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवतलगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

कालीगण्डकी तथा मुक्तिनाथ क्षेत्रका जानकार स्वामी ऋषि प्रपन्नाचार्यका अनुसार तीर्थस्थलमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा मुक्तिनाथ र कागबेनीमै पुगेर एक पटक भए पनि आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्डदान गर्न नेपाल र भारतका विभिन्न स्थानबाट हजारौँ धर्मावलम्बी आउने गरेका बताइन्छ ।

सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट सुरु भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँसीका दिनसम्म चल्ने गर्दछ । सोह्र श्राद्धमा श्राद्ध गर्नका लागि चितवन, नवलपुर, नवलपरासी, म्याग्दी, बागलुङलगायत विभिन्न जिल्लाबाट भक्तजन आउन थालेका कागबेनीबाट कृष्णप्रसाद शर्मा (सापकोटा) ले जानकारी दिए। उनका अनुसार सोह्र श्राद्ध सुरु भएसँगै कागबेनीमा चहलपहल पनि बढेको छ ।

असोज १० गतेदेखि सर्वसाधारणका मुक्तिनाथ खुला गरिँदै

मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर पाँच महिनापछि यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । गत वैशाखदेखि मुक्तिनाथमा नित्य पूजाबाहेक सर्वसाधारणका लागि दर्शन तथा पूजाआजामा रोक लगाइएको थियो ।

कोरोना महामारीका कारण बन्द रहेको मन्दिर सर्वसाधारणका लागि खुला गर्ने निर्णय गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले बताए । मङ्गलबार प्रमुख जिल्ला अधिकारी पौडेलको अध्यक्षतामा बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समितिको बैठकले सङ्क्रमणदर न्यून रहेकाले मन्दिर खुला गर्ने निर्णय गरेको हो । जिप्रकाको आदेशअनुसार असोज १० गतेदेखि मन्दिर सबैका लागि खुला हुने मुक्तिनाथ विकास समितिले जनाएको छ ।

बैठकले कोरोना परीक्षण गरेको पिसीआर रिपोर्ट वा एन्टिजेन रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न पाउने व्यवस्था गरेको छ । पिसीआर गरेको सात दिन र एन्टिजेन गरेको ७२ घण्टाभित्रको रिपोर्टका आधारमा मात्रै जिल्ला प्रवेश गर्न दिइने निर्णय गरिएको छ । कोरोना खोप लगाएका व्यक्तिले सहज प्रवेश पाउनेछन् । मुक्तिनाथ झन्डै समुद्री सतहबाट तीन हजार ८०० मिटरको उचाइमा अवस्थित छ ।

Tags :
प्रतिक्रिया दिनुहोस