महिलाहरु व्यावसायिक बाख्रापालनमा आकर्षित « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

महिलाहरु व्यावसायिक बाख्रापालनमा आकर्षित


५ आश्विन २०७८, मंगलबार


पाल्पा । तानसेन नगरपालिकाभित्रका विपन्न महिला व्यावसायिक बाख्रापालनप्रति आकर्षित भएका छन् । यसका लागि नगरपालिका, हेफर परियोजना, ग्रामीण आर्थिक विकास सङ्घले कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्तर्गत खोर व्यवस्थापन, प्राविधिक सहयोग र अनुदान प्रदान गरिएको छ ।

महिलालाई समूहमा आबद्ध गरी दुईदेखि पाँचसम्म बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । तानसेन–५ अर्चलेका कविता गैरे रावलले बाख्रापालन तालिममा सहभागी भएको बताए ।

आदर्श स्वालम्बन महिला समूहमा आवद्ध महिलालाई बाख्रा प्रदान गरिएको हो । आर्थिक रुपमा कमजोर परिवारका महिलालाई आत्मनिर्भर बनाउन कार्यक्रम प्रभावकारी भएको बताइएको छ ।

तानसेन नगरपालिकाका वडा नं १, ८, ९, १०, ११, १२ र १३ लाई बाख्रा पकेट क्षेत्रका रुपमा विस्तार गरिइएको छ । नगरपालिकाभित्रका ६२ महिला समूहलाई एक हजार २०० बाख्रा र ७५ बोयर बोका प्रदान गरिएकोमध्ये हाल एक हजार ५०० बाख्रा थप उत्पादन भएको ग्रामीण आर्थिक विकास सङ्घका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए ।

नगरपालिकाका प्रमुख अशोककुमार शाहीले कृषि तथा पशुपालनका क्षेत्रमा युवाको आकर्षण बढाउन थालिएको बताए । विदेशबाट फर्केका र बेरोजगार युवालाई ज्ञान सीप र क्षमता अभिवृद्धिसँग बीउ पूँजीको सहयोगमार्फत कृषि र पशुपालनलगायतका उत्पादनका क्षेत्रमा आकर्षित गरिएको उनले जानकारी दिए ।

उपप्रमुख लक्ष्मीदेवी पाठक र प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेयले स्थानीय स्रोतसाधनको परिचालन गरी उत्पादनमुखी काम गर्न युवाको थप आकर्षण हुनुपर्ने बताए । हेफर परियोजनाका कार्यकारी निर्देशक डा तीर्थ रेग्मीले जिल्लाका आठ स्थानीय तहमा कृषि र पशुपालनका क्षेत्रमा काम भएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस