सीमा नाकामा सवारी आवागमन सहज गरिने : प्रधानमन्त्री देउवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सीमा नाकामा सवारी आवागमन सहज गरिने : प्रधानमन्त्री देउवा


५ आश्विन २०७८, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत सीमा नाकामा भारतीय सवारीसाधनको आवागमन छिटै सहज गरिने बताएका छन् ।

प्रधानमन्त्री देउवाले होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साको प्रतिनिधिमण्डलसँग हिजो (सोमबार) सिंहदरबारमा भएको भेटमा सो कुरा बताएका हुन् ।

सङ्घका अध्यक्ष हरि पन्तको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवालाई भारतीय सवारीसाधनमा नेपाल तर्फबाट लगाएको रोक तत्काल खुला गर्नुपर्ने माग राखेको थियो ।

प्रधानमन्त्री देउवासमक्ष बुझाइएको ज्ञापन पत्रमा नेपाल–भारत सीमा नाकामा मालवाहक सवारीसाधन बाहेकका सवारीहरूको आवागमनमा रोक लगाइएका कारण भारतीय पर्यटकको आवागमन प्रभावित हुँदा होटल तथा पर्यटन व्यवसाय धराशायी भएको उल्लेख गरिएको छ ।

बारा र पर्सा क्षेत्रमा सानाठूला गरी करिब दुई सय होटल सञ्चालनमा छन् । प्रधानमन्त्री देउवासँगको भेटपछि अध्यक्ष पन्तले भने, ‘हामीले सीमा क्षेत्रका होटल तथा पर्यटन व्यवसायीका सबै समस्या राख्यौँ । प्रधानमन्त्रीले हाम्रा मागप्रति सकारात्मक धारणा राखे । उनले भारतीय सवारीसाधनलाई नेपालतर्फ खुलाउने काममा तत्कालै निर्णय लिने बताए ।’

Tags :
प्रतिक्रिया दिनुहोस