आगलागीमा परी घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आगलागीमा परी घाइते भएका दम्पतीको उपचारको क्रममा मृत्यु


५ आश्विन २०७८, मंगलबार


झापा । आगलागीमा परी घाइते भएका अर्जुनधारा नगरपालिका-७ पुष्पलाल मार्गका ४२ वर्षीय रोमनाथ खनाल र उनकी श्रीमती ३८ वर्षीया दुर्गाको मृत्यु भएको छ।

उनीहरूको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सामाजिक अभियन्ता कमल पोख्रेलले जानकारी दिए।

उनका अनुसार रोमको हिजो (सोमबार) राति पौने ८ बजे र दुर्गाको राति ११:१५ बजे मृत्यु भएको हो। मृतक खनाल दम्पतीको काठमाडौँमै अन्त्येष्टि गरिने पारिवारिक सहमति भएको उनको भनाइ छ ।

आगलागीमा नै घाइते भएका उनीहरुका छोरा पंकजको अवस्था भने सामान्य रहेको जनाइएको छ। पंकजलाई अस्पतालले भोलि डिस्चार्ज दिने उनले बताए।

गत भदौ २६ गते शनिवार साँझ ग्यास सिलिन्डर लिक हुँदा खनालको घरमा आगजनी भएको थियो। आगलागीमा परी खनाल परिवारका चार जना घाइते भएका थिए। रोम, उनकी श्रीमती दुर्गा, छोरा पंकज र आमा मंगलादेवी घाइते भएका थिए। तीन जना गम्भीर भए पनि मंगलादेवी सामान्य घाइते भएकी थिइन्।

घाइतेको झापामा उपचार सम्भव नभएपछि विराटनगर पठाइएको थियो। त्यहाँ पनि उपचार सम्भव नभएपछि काठमाडौँ लगिएको थियो। रोमका आमा, एक छोरा र एक छोरी छन्। आमा र छोरी अहिले छिमेकीको घरमा बसिरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस