जिससमार्फत पालिकामा रु ४१ करोडको काम « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जिससमार्फत पालिकामा रु ४१ करोडको काम


५ आश्विन २०७८, मंगलबार


चितवन । जिल्ला समन्वय समिति (जिसस) चितवनमार्फत जिल्लाका सात पालिकामा रु ४१ करोड बढीका काम सम्पन्न भएका छन् । समितिको मौज्दात कोषबाट रु ४१ करोड १९ लाख रकम विनियोजन गरी काम गरिएको हो ।

जिससले सबैभन्दा बढी रकम भरतपुर महानगरपालिकाका योजनामा खर्च गरेको छ । उक्त रकम पालिकामा प्रशासनिक भवन, वडा कार्यालय, विद्यालय भवन, स्वास्थ्य संस्था, खानेपानीलगायतमा खर्च गरिएको छ । जिसस प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार भरतपुर महानगरपालिकामा प्रशासनिक भवनका लागि रु एक करोड १० लाख, ११ वटा वडा कार्यालयका लागि रु चार करोड १३ लाख, ४५ वटा विद्यालय भवनका लागि रु तीन करोड ९९ लाख, तीन स्वास्थ्य संस्थाका लागि रु २३ लाख, छ खानेपानी आयोजनाका लागि रु २० लाख र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि रु ६० लाख गरी रु १० करोड २५ लाख खर्च गरिएको छ ।

जिससले खैरहनी नगरपालिकाका विभिन्न योजनामा रु छ करोड चार लाख खर्च गरेको छ । खैरहनीमा प्रशासनिक भवनका लागि रु एक करोड ६० लाख, छ वडा कार्यालयका लागि रु दुई करोड ५५ लाख, नौ विद्यालय भवनका लागि रु एक करोड ४९ लाख, तीन खानेपानी योजनाका लागि रु ४० लाख खर्च गरिएको डल्लाकोटीले जानकारी दिए ।

यस्तै रत्ननगर नगरपालिकाका विभिन्न आयोजनामा रु पाँच करोड ७८ लाख जिससले खर्च गरेको छ । प्रशासनिक भवनमा रु २० लाख, १२ वडा कार्यालयका लागि रु दुई करोड ७२ लाख, ११ विद्यालय भवनमा रु एक करोड २६ लाख, तीन स्वास्थ्य संस्थामा रु एक करोड २५ लाख र दुई खानेपानी आयोजनामा रु ३५ लाख बजेट खर्च भएको छ ।

राप्ती नगरपालिकामा रु पाँच करोड २८ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनमा रु दुई करोड ५० लाख, पाँच वडा कार्यालयमा रु एक करोड २२ लाख, आठ विद्यालय भवनमा रु ७६ लाख, दुई स्वास्थ्य संस्थामा रु २० लाख, पाँच वटा खानेपानी आयोजना रु ६० लाख खर्च भएको उनले जानकारी दिए ।

कालिका नगरपालिकामा प्रशासनिक भवनमा रु दुई करोड, आठ वडा कार्यालयमा रु तीन करोड पाँच लाख, चार वटा विद्यालय भवनमा रु १७ लाख, एउटा स्वास्थ्य संस्थामा रु १५ लाख, एउटा खानेपानी आयोजनामा रु आठ लाख जिससले खर्च गरेको छ । सो नगरपालिकामा सबै योजनामा गरी रु पाँच करोड ४५ लाख बजेट खर्च भएको छ ।

माडी नगरपालिकामा रु चार करोड १४ लाख बराबरका योजना सम्पन्न भएका छन् । जसमध्ये प्रशासनिक भवनका लागि रु एक करोड ५० लाख, तीन वडा कार्यालयका लागि रु ९५ लाख, आठ विद्यालय भवनका लागि रु ९९ लाख, दुई स्वास्थ्य संस्थाका लागि रु ३५ लाख र दुई खानेपानी आयोजनाका लागि रु ३५ लाख खर्च भएको छ ।

जिससले जिल्लाको एउटा मात्रै गाउँपालिका इच्छा कामनामा विभिन्न आयोजनामा रु चार करोड २५ लाख खर्च गरेको छ । जसमध्ये प्रशासनिक भवनमा रु एक करोड ४० लाख, चार वटा वडा कार्यालय रु एक करोड २० लाख, ११ वटा विद्यालय भवनमा रु ७५ लाख, दुई वटा स्वास्थ्य संस्थामा रु ३० लाख, छ खानेपानी आयोजनामा रु ६० लाख खर्च भएको छ ।

जनप्रतिनिधि आएसँगै यी आयोजनामा जिससले बजेट पठाएको हो । गत वर्षको पुसयता काम भइरहेका आयोजनाको कूल बजेट आउन बाँकी रहेको डल्लाकोटीले बताए । कार्यालयमा वार्षिकरूपमा उठ्ने घर भाडा, पहिले–पहिले आउने मालपोतको राजस्व, नदीजन्य बोलपत्रका रकमलगायतका आन्तरिक आम्दानीबाट सङ्कलित मौज्दात रकम ती आयोजनामा खर्च गरिएको हो ।

डल्लाकोटीका अनुसार प्रदेश सरकारबाट प्राप्त रकम विभिन्न कार्यक्रममा खर्च गरिएको छ । यससँगै जिससले उपलब्ध गराएको जग्गामा अत्याधुनिक सिटीहल निर्माण भइरहेको छ । डल्लाकोटीले भने, ‘म आफू प्रमुख भएपछि जिसस परिसरमा सिटीहल बनाउने अवसर मिल्यो । यसलाई राम्रो अवसरका रूपमा हामीले लिएका छौँ ।’ भरतपुर महानगरपालिकाले अन्यत्र जग्गा खोजी गर्दा पाउन कठिन भएपछि जिल्लाको गौरवको आयोजना हुने भएकाले जिससले सिटीहल निर्माणका लागि जग्गा दिएको उनको भनाइ छ । सो जग्गामा महानगरको स्वामित्वमा लगेर सिटीहल निर्माणको काम भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस