सङ्क्रमणदर कम भएसँगै दैनिक सेवा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सङ्क्रमणदर कम भएसँगै दैनिक सेवा


५ आश्विन २०७८, मंगलबार


काभ्रेपलान्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले आउँदो आइतबारदेखि सबै स्थानीय तहका नागरिकलाई दैनिक सेवा प्रदान गर्ने भएको छ ।

कार्यालयले विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको पालना गर्ने क्रममा भिडभाड कम गर्न स्थानीय तह अनुसार सेवामा पालो–प्रणाली लागू गर्दै आएको थियो ।

कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएकाले आउँदो आइतबारदेखि पालो–प्रणाली हटाई दैनिक सेवा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताए । उनका अनुसार कार्यालयमा भिडभाड कम भएको हालको अवस्थामा कोरोना सङ्क्रमण दर घटिरहे पनि सेवाग्राहीले स्वास्थ्य, सुरक्षाका मापदण्ड भने अपनाउनुपर्नेछ । काभ्रेपलान्चोकमा छ नगर र सात गाउँपालिका छन् ।

कार्यालयले हाल जिल्लामा १० दिन ‘मिक्स लकडाउन’ थपेको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि गत जेठको विभिन्न मितिमा जिल्लाका आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो ।

यसैबीच काभ्रेपलान्चोकका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएको छ । कोरोना सङ्क्रमणमुक्त हुनेमा रोशी, तेमाल, खानीखोला र महाभारत गाउँपालिका छन् । हाल चौँरीदेउरालीमा एक र मण्डनदेउपुर नगरपालिकामा दुई सङ्क्रमित रहेको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी) ले जनाएको छ । केन्द्रका अनुसार शनिबार र आइतबार दुई दिन जिल्लामा थप सङ्क्रमण नदेखिए पनि पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका छन् ।

सोमबार १४, आइतबार २६ र शनिबार १५ सङ्क्रमित सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ । जिल्लामा हाल १२१ सक्रिय सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा ३५, पाँचखालमा २१, धुलिखेलमा १८, पनौतीमा १७, नमोबुद्धमा १५ तथा भुम्लु सात र बेथानचोक गाउँपालिकामा पाँच सङ्क्रमित रहेका छन् ।

जिल्लामा हालसम्म १४ हजार ४९६ मा सङ्क्रमण देखिएकामा १९२ को मृत्यु भएको छ । हालसम्मका कूल सङ्क्रमितमध्ये ९८ प्रतिशत अर्थात् १४ हजार १८३ सङ्क्रमणमुक्त भइसकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस