अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अर्जेन्टिनाको मन्त्रिपरिषद्मा फेरि फेरबदल


२ आश्विन २०७८, शनिबार


बुएनोस एैरेस । अर्जेन्टिनाको मन्त्रिपरिषद्मा हिजो (शुक्रबार) फेरि फेरबदल गरिएको छ ।

राष्ट्रपति अल्बेर्टो फेर्नान्डोजले नयाँ राजनीतिक सङ्कट उत्पन्न भएसँगै मन्त्रिपरिषद्मा पुनः हेरफेर गरेको जनाइएको छ ।

नयाँ मन्त्रिपरिषद्मा अनिबाल फर्नेन्डोजले सुरक्षा, जुलियन डोमिन्गुजले कृषि, जोन पेर्जाक्सले शिक्षा र डानियल फिल्मुसले विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

योसँगै प्रमुख प्रशासकको जिम्मेवारी पनि जोन मन्जुरलाई दिइएको छ । उनी यसअघि तुकुमन प्रान्तको गभर्नर थिए ।

राष्ट्रपति फेर्नान्डोजले विदेश मन्त्रीलाई पनि उनी विदेशमा रहेको बेला पदमुक्त गरेका छन् । विदेश मन्त्री फिलिप सोला ल्याटिन अमेरिकी समूदायको सम्मेलनमा सहभागी हुन मेक्सिको गएका छन् । सो सम्मेलन शनिबारदेखि सुरु भएको छ ।

सम्मेलनमा राष्ट्रपति फेनार्न्डेज समेत सहभागी हुने कार्यक्रम भएको भए पनि उनको भ्रमण स्थगित भएको छ । उनले देश भित्रको राजनीतिक सङ्कटकै कारणले भ्रमण स्थगित गरेको उनको सचिवालयले जनाएको छ ।

उनले अर्को हप्ता अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा समेत सहभागी नहुने निर्णय सुनाइसकेका छन् ।
मन्त्रिपरिषद्का नयाँ सदस्यहरूलाई सोमबार शपथ ग्रहण गराउँदै जिम्मेवारी सुम्पिने राष्ट्रपतिको योजना छ ।

उनले जोन रोसलाई नयाँ सञ्चार सचिवको रूपमा नियुक्त गरेका छन्। यसअघि सो पदमा जोन पाब्लो बिओन्डी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस