‘नवीनतम क्षेत्रमा विज्ञानको प्रयोग हुनुपर्छ’ : प्रधानमन्त्री देउवा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

‘नवीनतम क्षेत्रमा विज्ञानको प्रयोग हुनुपर्छ’ : प्रधानमन्त्री देउवा


२ आश्विन २०७८, शनिबार


नेपाली काँग्रेस

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो विकासको लक्ष्य हासिल गर्न सरकारले वैज्ञानिक अध्ययन, अनुसन्धान, अन्वेषण र प्रवर्द्धनमा आवश्यक लगानी गर्ने बताएका छन् ।

नवौँ विज्ञान दिवसको अवसरमा मूल समारोह समितिद्वारा आयोजित कार्यक्रमलाई हिजो (शुक्रबार) भर्चुअल रूपमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

विज्ञान र प्रविधिको प्रयोगकै कारण विश्वबाट नै कोरोना भाइरसलाई पराजित गर्न सकिन्छ भन्ने विश्वाससमेत जागृत भएको प्रधानमन्त्री देउवाले बताए। विज्ञान र प्रविधिको प्रयोगले नै यसलाई सम्भव बनाएको उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले नवीनतम क्षेत्रमा विज्ञानको प्रयोग हुनुपर्नेमा जोड दिए । धेरैजसो विकसित मुलुकले सूचना प्रविधिको प्रयोग गरेर नै मुलुकलाई विकास पथमा लैजान सफल भएको सन्दर्भ उनले उल्लेख गरे ।

नेपालको विकासका लागि पनि सूचना प्रविधिलाई प्राथमिकतामा राखिनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले यसमा ध्यान दिन सरोकारवालाहरूलाई आग्रहसमेत गरे। सूचना प्रविधिको विकासबिना नेपाल समृद्ध राष्ट्रतर्फ जान नसक्ने उनको भनाइ छ । नेपालमा सुशासन कायम गर्नका लागि पनि विज्ञान र प्रविधिको महत्वपूर्ण भूमिका हुने उनले बताए।

नेपाल सरकारका मुख्य सचिव शङ्करदास वैरागीले विज्ञानको सचेतना तथा विद्यार्थीमा यसको आकर्षण वृद्धिको कार्यक्रम गरिनुपर्ने विचार व्यक्त गरे । पाठ्यक्रम या शिक्षण सिकाइमा सुधार गरेर विज्ञान शिक्षाप्रति आकर्षण बढाउनुपर्ने उनले बताए । विज्ञानको सर्वव्यापी महत्व रहेकाले विज्ञानको पठनपाठनलाई सबैको पहुँचमा पुर्‍याउनु पर्नेमा मुख्य सचिव वैरागीले जोड र्दिए ।

पूर्व मन्त्री गणेश शाहले विज्ञान शिक्षा निकै कमजोर भएकाले त्यसको विस्तार र गुणस्तर अभिवृद्धिमा ध्यान दिनुपर्ने विचार व्यक्त गरे । काठमाडौँ विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा.सुरेशराज शर्माले भारत र चीनले प्रविधिमा विकास गरेर विकासमा अगाडि बढेको बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले प्राविधिक शिक्षाको आवश्यकता बढेको उल्लेख गर्दै प्रतिस्पर्धी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने अवस्था रहेको बताए । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश आचार्यले विज्ञान शिक्षाको विकास विस्तारका लागि कार्यक्रम सञ्चालन गरिनुपर्ने विचार व्यक्त गरे ।

मन्त्रालयका सहसचिव दीपक शर्माले नेपालले साइन्स डिप्लोमेसी (विज्ञान कूटनीति) मार्फत विज्ञान र प्रविधिको क्षेत्रमा नयाँ लगानी भित्र्याउन रणनीति अख्तियार गर्नुपर्ने विचार व्यक्त गरे। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. सुनीलबाबु श्रेष्ठले आफूहरूले महिला र युवा वैज्ञानिक फोरम स्थापना गरी आफूहरूले कार्य प्रारम्भ गरेको जानकारी दिए ।

यसैबीच, विज्ञान दिवसको अवसरमा विभिन्न विज्ञानको क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न पुरस्कार प्रदान गरिने भएको छ । सोअनुसार पत्रकार मणि दाहाललाई विज्ञान पत्रकारिता पुरस्कार, डा. दीपकप्रसाद बास्तोलालाई एरोटोनिकल प्रविधि पुरस्कार र प्रा डा. उदयराज खनाललाई अन्तरिक्ष प्रविधि पुरस्कार दिइने घोषणा शिक्षा मन्त्रालयले गरेको छ । साथै जैविक प्रविधि पुरस्कार प्रा डा. प्रकाश घिमिरेलाई, डा. प्रदीप ज्ञवालीलाई उदीयमान प्रविधि पुरस्कार र नास्टका आभास मास्केलाई विपत् न्यूनीकरणसम्बन्धी प्रविधि पुरस्कार प्रदान गरिने भएको छ ।

यस वर्षको विज्ञान दिवसको नारा विज्ञान र प्रविधिको उन्नत विकास : प्रकोप र महामारीबाट सहज निकास भन्ने रहेको छ । यो नवौँ विज्ञान दिवस हो ।

Tags :
प्रतिक्रिया दिनुहोस