चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने « प्रशासन
Logo २७ जेष्ठ २०८०, शनिबार
   

चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने


२ आश्विन २०७८, शनिबार


मुग्लिन । चेपाङ समुदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापूर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृति उल्लेख गर्ने नेपाल चेपाङ सङ्घका केन्द्रीय महासचिव आइतसिं चेपाङले बताए।

उनले भने, ‘हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति हो, हामी मानव निर्मित मन्दिरमा पूजा गर्दैनौँ, प्रकृतिमा आफै उत्पत्ति भएका ढुङ्गा, ठुलो वृक्ष, पहाड, खोला र माटोलाई पुज्ने गर्छौँ, त्यसैले हाम्रो धर्म प्रकृति हो, राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति र भाषामा चेपाङ लेख्नेछौँ ।’

नेपाल चेपाङ सङ्घको अगुवाइमा चेपाङ समुदायलाई आफ्नो भाषा, धर्म, संस्कृतिबारे जानकारी गराउन टोल टोलमा कार्यक्रमसमेत सञ्चालन गर्दै आएको उनले बताए । सङ्घ बागमती प्रदेशका सचिवसमेत रहेका चितवनका लक्ष्मण चेपाङले पनि धर्ममा प्रकृति उल्लेख गर्न अभियान नै सञ्चालन गरिएको जानकारी दिए ।

पछिल्लो समय आफ्नो भाषा, धर्म, संस्कृति लोप हुने स्थितिमा पुगेपछि सङ्गठित रुपमा नै नेपाल चेपाङ सङ्घले विभिन्न अभियान सञ्चालन गर्दै आएको छ । नेपालको २६ जिल्लामा बसोबास गर्ने चेपाङ समुदायको सङ्ख्या राष्ट्रिय जनगणना २०६८ अनुसार ६८ हजार ३९९ रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस