खोटाङ । मध्य पहाडी राजमार्गले छोएको यहाँका चार स्थानीय तहमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी थालिएको छ ।
प्रदेश नं १ सरकारको आर्थिक करिडोरअन्तर्गत हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा रावाबेँसी गाउँपालिका र साकेला गाउँपालिकामा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनको तयारी गरिएको हो ।
आयोजनाअन्तर्गत अनाज बीउ, फलफूल, तरकारी, मसला, कुखुरा, दूध, मासु, माछा, चिया, कफी, मह, जडीबुटी र वन पैदावार उत्पादनका क्षेत्रमा संलग्न उत्पादकको प्रोत्साहन तथा सहयोगका कार्यक्रम सञ्चालन गरिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय, धनकुटाका कृषि अधिकृत सन्तोष थापाले जानकारी दिए ।
‘सात वटै प्रदेशका आर्थिक करिडोरमा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालनका लागि नेपाल सरकार र विश्व बैङ्कबिच गत २०७७ पुस ६ गते सम्झौता गरिएको थियो’, उनले भने, ‘सडक आसपासका स्थानीय बासिन्दाको जीवनस्तर उकास्ने उद्देश्यले सञ्चालन गर्न लागिएको सो कार्यक्रम सात वटै प्रदेशमा सन् २०२५ सम्म सञ्चालन हुन्छ ।’
ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजनाको पहिलो सम्भागअन्तर्गत बजार आबद्धतालाई सहयोग गर्ने, दोस्रो सम्भागमा विद्यमान सङ्घीय प्रणालीमा कृषि उद्यम पर्यावरणलाई बढावा दिने, तेस्रो सम्भागमा कोभिड–१९ ले अवरुद्ध भएको खाद्य आपूर्ति शृङ्खला तथा स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान तथा सुदृढीकरण गर्ने गतिविधि सञ्चालन हुने आयोजनाले जनाएको छ । यस्तै चौथो सम्भागअन्तर्गत परियोजनाको कार्यान्वयन, खरिद तथा आर्थिक व्यवस्थापन, सामाजिक तथा वातावरणीय जोखिम व्यवस्थापन, अनुगमन, मूल्याङ्कन तथा प्रतिवेदन तयारी एवं तालिम क्रियाकलाप सञ्चालन गरिने जनाइएको छ ।
कृषि अधिकृत थापाका अनुसार पाँचौँ सम्भागमा आकस्मिक प्रतिकार्यका क्रियाकलाप सञ्चालन गरिने आयोजनाले जनाएको छ । आयोजना सञ्चालित क्षेत्रका प्रादेशिक र स्थानीय तहसँग गत भदौ २३ गते दिक्तेल बजारमा अन्तर्क्रिया गरिएको थियो । ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना सञ्चालन हुने भएपछि मध्य पहाडी लोकमार्गअन्तर्गत पर्ने सडक आसपासका स्थानीय बासिन्दा हर्षित भएका छन् ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय पाख्रीबास, धनकुटामार्फत पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, उदयपुर र ओखलढुङ्गामा कार्यक्रम सञ्चालनको तयारी गरिएको हो ।







