निपाह भाइरस कोरोना भन्दा घातक छ : डा. पुन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निपाह भाइरस कोरोना भन्दा घातक छ : डा. पुन


३१ भाद्र २०७८, बिहिबार


नेपालमा निपाह भाइरस सङ्क्रमणको जोखिम बढेको छ । भारतमा केही दिनअघि यो भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपालमा पनि यसको जोखिम बढेको हो । यति बेला चाडपर्व मनाउन भारतबाट आउने नेपालीको सङ्ख्या बढेको छ । चाडपर्व मनाउन आउनेसँगै भाइरस पनि आउन सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकहरूले सुझाएका छन् । उनीहरूका अनुसार नेपालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भई नसके पनि जोखिम भने बढ्दो छ ।भारतसँग खुला सीमा भएकाले सङ्क्रमण फैलिन सक्ने भन्दै सरकारले पनि सचेत रहन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अगाडि निपाह भाइरसविरुद्ध सतर्कता अपनाउन र शङ्कास्पद बिरामी देखिए नमुना सङ्कलन गर्न अनुरोध गरेको थियो । निपाह भाइरस सन् १९९९ मा पहिलो पटक मलेसियामा अपग्रेट भएको देखिन्छ । सुँगुर पालक कृषकहरूमा प्रकोपको रूपमा यो भाइरस फैलिएको थियो । त्यसपछि वर्षेनी जसो भारत र बङ्गलादेशमा यसको सङ्क्रमण देखिने गरेको छ । निपाह भाइरस कसरी सर्छ, यसको सङ्क्रमण पछि कस्ता लक्षण देखा पर्छन्, यसबाट जोगिन के कस्तो सावधानी अपनाउनु पर्छ? लगायतका विषयमा केन्द्रित रहेर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनसँग प्रशासन डटकमले गरेको कुराकानी ।

निपाह भाइरस कस्तो भाइरस हो ?

निपाह भाइरस सन् १९९९ मा पहिलो पटक मलेसियामा ‘अपग्रेट’ भएको देखिन्छ । सुँगुर पालक कृषकहरूमा प्रकोपको रूपमा यो भाइरस फैलिएको थियो । यस्तै सन् २००१ मा भारतको सिलिगुरीमा निपाह भाइरसको ‘आउट ब्रेक’ भएको थियो । त्यसपछि वर्षेनी जसो भारत र बङ्गलादेशमा यसको सङ्क्रमण देखिने गरेको छ । 

यो भाइरस पशुपंक्षी र सङ्क्रमित मानिस गरी दुई वटा स्रोतहरूबाट सर्ने गर्छ । विशेष गरी ‘फ्रुट ब्याट’ (चमेरो) र सङ्क्रमित सुँगुरलगायत अन्य पशुहरूको सम्पर्कबाट यो सर्ने गर्छ । विश्व स्वास्थ्य सङ्गठनले नौ वटा अति घातक संक्रामण रोगहरू मध्येमा निपाह भाइरसलाई पनि राखेको छ । यसको औषधि पत्ता लागि सकेको छैन । खोप पनि विकास भइसकेको अवस्था छैन ।

निपाह भाइरसको सङ्क्रमणपछि के कस्ता लक्षणहरू देखा पर्दछन् ?

यो भाइरसको सङ्क्रमणपछि ज्वरो आउने, टाउको दुख्ने, घाटी दुख्ने, खोकी लाग्ने श्वासप्रश्वासमा समस्या आउने, वान्ता हुने, जीउ दुख्ने जस्ता लक्षण देखा पर्दछन् । यी प्रारम्भिक लक्षण हुन् ।सङ्क्रमण भएको चारदेखि चौध दिनसम्ममा सामान्यतया लक्षणहरू देखिने गर्छन् ।

भाइरसको सङ्क्रमणपछि मस्तिष्कमा असर पर्दछ । मस्तिष्क सुन्निने हुन्छ । यसको प्रभाव मस्तिष्कमा प¥यो भने ४८ घण्टामा बिरामी अचेत अवस्थामा पुग्दछ । त्यो अवस्थामा पुगेको बिरामीलाई बचाउन गाह्रो हुन्छ ।विगतमा यसको सङ्क्रमणपछि मृत्युदर ७५ प्रतिशतसम्म देखिएको थियो । अर्थात् १० जना सङ्क्रमितमध्ये ७ जनाको मृत्यु भएको थियो । तसर्थ यसलाई घातक सङ्क्रामक रोग भनेर बुझ्दा हुन्छ ।

यो भाइरस कसरी सर्छ ?

निपाह भाइरस जनावरबाट जनावरमा, जनावरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने गर्छ । चमेरो निपाह भाइरसको प्राकृतिक होस्ट मानिन्छ । चमेरो, सुँगुर लगायतबाट सर्छ ।चमेरोको पिसाब र र्‍यालबाट सर्छ । यसैगरी सुँगुर बिरामी हुँदा शरीरबाट निस्कने पदार्थबाट पनि सर्छ । मानिसको पनि पिसाब, रगत, र्‍याल, मुखबाट निस्कने छिटा अथवा बिरामी हुँदा तरल पदार्थहरू निस्कन्छन् त्यसबाट सर्ने गर्दछ । एक जना सङ्क्रमितले कति जनालाई यो भाइरस सार्न सक्छ भन्ने विषयमा अनुसन्धान भइसकेको छैन ।

यसलाई प्राथमिकतामा राखेर आगामी दिनहरूमा अनुसन्धान हुन जरुरी छ । अहिलेसम्म यो भाइरस तीव्र गतिमा फैलिएको पाइएको छैन । तर, जनावरबाट सर्ने भन्दा पनि मानिसबाट मानिसमा सर्ने विषय चिन्ताको विषय हो । 

नेपालमा निपाह भाइरस सङ्क्रमित भेटिएका छन् कि छैनन् ?

नेपालमा यो भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छैन । यो भाइरसका बारेमा अनुसन्धान पनि भएको छैन । कोरोना जस्तो छिटो सङ्क्रमण फैलिएको र मानिसलाई प्रभावित पारेको पाइएको छैन । नजिको ‘क्लोज कनट्याक्ट’को व्यक्तिमा भाइरस सर्छ भन्ने कुरा भारत र बङ्गलादेशमा देखिएको उदाहरणहरूले देखाउँदछ ।भारतमा यसको सङ्क्रमण देखिएपछि हामी यसको जोखिममा छौँ ।

मानिसबाट मानिसमा पनि सर्ने भएकाले सजगता अपनाउन जरुरी छ । लक्षण देखिएका छन् भने चिकित्सकको परामर्श लिनुपर्छ । सङ्क्रमण भएको चारदेखि चौध दिनसम्ममा सामान्यतया लक्षणहरू देखिने गर्छन् । नेपालमा यसको सङ्क्रमण भइसकेको पुष्टि भइसकेको त छैन । तर, सावधानी अपनाउनु त पर्छ नै । यसले मानिसको क्षति हुनबाट जोगाऊँछ ।

सङ्क्रमणबाट बच्नका लागि के गर्नु पर्छ ? कस्तो सावधानी अपनाउनु पर्ला ? 

भारतमा सङ्क्रमण देखिएपछि नेपाल पनि यसको जोखिममा छ । सन् २००१ मा भारतको सिलिगुरीमा करिब ७५ प्रतिशत सङ्क्रमण स्वास्थ्यकर्मी र अस्पताल आवतजावत गर्नेहरूमा देखिएको थियो । यो घटनाले स्वास्थ्यकर्मीहरू थप जोखिममा हुने देखिन्छ ।नेपालका स्वास्थ्य केन्द्र, अस्पताल तथा प्रयोगशालाहरूमा सुरक्षाका उपायहरू अपनाएको देखिँदैन । जसले निपाह भाइरसको जोखिम उच्च भएको देखिन्छ ।

यसतर्फ सावधानी अपनाउन जरुरी छ ।यस्तै निपाह भाइरस आउट ब्रेक भएको ठाउँबाट आएका व्यक्तिहरूमा ज्वरो आउने, टाउको दुख्ने, श्वास फेर्न अप्ठ्यारो हुने, जीउ दुख्ने लगायतका लक्षण छन् भने स्वास्थ्य संस्था जानु पर्छ । स्वास्थ्य परीक्षण गर्न जरुरी छ । भारतको केरलामा यसको सङ्क्रमण देखिएको छ । यदि कोही त्यहाँबाट आएको हुनुहुन्छ भने छुट्टै बसी दिनूस ।

स्वास्थ्यकर्मीसँग परामर्श लिनूस । नेपालमा ‘टरोपस’ प्रजातिको चमेरो (फ्रुट ब्याट) पाइन्छ । यही जातको चमेरो निपाह भाइरसको प्राकृतिक होस्ट मानिन्छ । यो प्रजाति काठमाडौँमा पनि छ । यसले गर्दा पनि हामीले विशेष सावधानी अपनाउनु पर्छ । अर्कोतर्फ सुँगुर पालक कृषकहरू पनि यसबाट सजक रहनु पर्छ । मलेसियामा सुँगुरबाट नै मानिसमा यो भाइरसको सङ्क्रमण भएको थियो ।

सुँगुरपालक कृषकहरू पनि आफूले पालेको सुँगुरमा कुनै समस्या देखियो भने विशेषज्ञलाई बोलाएर निपाह भाइरस छ छैन भन्ने पुष्टि गर्दा राम्रो हुन्छ । सङ्क्रमण फैलिन पाउँदैन । नेपालमा भाइरसको सङ्क्रमण छ छैन भन्ने बारेमा सरकारले परीक्षण गर्नु पर्ने हुन्छ । सोही अनुसार नीति निर्देशिका बनाउनु पर्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस