सरकारले प्रतिपक्षमाथि दोष थुपारेर वित्तीय संकट सिर्जना गर्न खोज्यो : एमाले « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारले प्रतिपक्षमाथि दोष थुपारेर वित्तीय संकट सिर्जना गर्न खोज्यो : एमाले


३० भाद्र २०७८, बुधबार


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले प्रतिनिधिसभाको बैठक बन्द गरेर त्यसको दोष प्रतिपक्षमाथि थोपर्ने र मुलुकलाई वित्तीय संकट सिर्जना गर्ने ‘सुतुरमुर्ग चाल’ चलेको आरोप लगाएको छ ।

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म सार्दा बुधबारभित्र बजेट प्रतिस्थापन विधेयक पारित हुन सकेन । यसका कारण सरकारको खर्च नपाउने परिस्थिति सिर्जना भएको छ ।

यो परिस्थिति सरकारका कारण आएको एमालेको आरोप छ । एमाले महासचिव ईश्वर पोखरेलले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आर्थिक वर्ष सुरु भएको लामो समय गुज्रिसकेको समयमा प्रतिस्थापन विधेयकको तयारीका नाममा सरकारले अनावश्यक समय गुजारेका कारणले नै आजको वित्तीय संकटको परिस्थिति सिर्जना हुनपुगेको हो ।’

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्म सारेको विषयमा सरकारले जवाफ दिनुपर्ने एमालेले उल्लेख गरेको छ । ‘आफूलाई ईच्छा लागेको विजनेश स्वेच्छाचारी ढंगले अघि बढाउने सरकारले भदौ ३० भित्र बजेट पारित गरिसक्नुपर्ने विषय बिर्सेझैं हाउस असोज ४ गते किन सारियो यसको जवाफ यो गैरजिम्मवार सरकारले दिनुपर्छ’, महासचिव पोखरेलले भनेका छन्, ‘यो नभएका काम जति सबैको दोष प्रतिपक्षमाथि थोपर्न खोज्ने सुतुरमुर्ग चालमात्र हो । सरकारको यसप्रकारको रवैयाप्रति हाम्रो पार्टी नेकपा ९एमाले० खेद व्यक्त गर्दछ ।’

सरकार प्रतिपक्षको अवरोधका कारणले बजेट समयमा पारित नभएको जस्तो गरी भ्रम सिर्जना गरिरहेको आरोप एमालेले लगाएको छ । ‘प्रतिनिधिसभाको बैठक सुरु भएको लामो समयसम्म सरकारका लागि बजेट प्राथमिकताको विषय नै बनेन । बरु यसबीचमा प्रतिपक्षी दललाई षड्यन्त्रपूर्ण ढंगले विभाजन गर्नका लागि अध्यादेश ल्याउने प्रयोजनका लागि संसद्‌ अधिवेशन स्थगित गरियो’, एमालेले भनेको छ, ‘दल विभाजनसम्बन्धी अध्यादेश जारी हुनुपूर्व नै प्रतिपक्षी दलका सांसदहरूमाथि गरिएको कारबाहीको सूचना प्रकाशित नगरी दल विभाजनलाई प्रोत्साहन दिने काम सभामुखका तर्फबाट भयो ।’

सरकार र सभामुखका तर्फबाट भएका अनुचित र गैरकानुनी कार्यका कारणले नै प्रतिनिधिसभामा असहज स्थिति सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस