इन्टरनेट तथा केबुलका अव्यवस्थित तार हटाउन निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

इन्टरनेट तथा केबुलका अव्यवस्थित तार हटाउन निर्देशन


३० भाद्र २०७८, बुधबार


कर्णाली । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विद्युत् र टेलिकमका खम्बाबाट इन्टरनेट तथा केबुल नेटवर्कले जडान गरेका अव्यवस्थित तार सात दिनभित्र हटाउन सेवा प्रदायकलाई निर्देशन दिएको छ ।

अव्यवस्थित र अनावश्यक तारले वीरेन्द्रनगरको सौन्दर्य घटाएको र दुर्घटना निम्त्याउने गरेको भन्दै प्रशासनले त्यस्ता तार हटाई भूमिगत व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोगविहीन तार हटाउन र नयाँ तार जडान गर्न नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग अनिवार्य समन्वय गर्न आग्रह गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा इन्टरनेट तथा केबुल नेटवर्कका तार व्यवस्थापन गर्ने सम्बन्धमा बसेको बैठकले टेलिकम र विद्युत् प्राधिकरणले प्रयोग नभएका, सडे गलेका एवं स्थानान्तरण गरी सडकमै छाडिएका खम्बा तत्काल व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, बैठकले असोज ६ गते नेपाल टेलिकम सुर्खेत कार्यालयको नेतृत्वमा जिल्ला प्रशासन, नेपाल विद्युत् प्राधिकरण, हुलाक निर्देशनालय र सेवा प्रदायक निकायका प्रतिनिधिसहितको टोलीले यो निर्देशन पालना भए नभएको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस